प्रतिगमनलाई परास्त गर्न गठबन्धन बनेको हो : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकलाई पुनः निरंकुशता र अराजकताको भूमरीतिर धकेल्ने कसरत भइरहेको बताउनुभएको छ ।

आज वाम लोकतान्त्रिक गठबन्धन काठमाडौं– ७ ले आयोजना गरेको कार्यक्रममा प्रचण्डले अहिले पनि संविधान मिच्ने र मुलुकलाई पुनः निरंकुशता र अराजकताको भूमरीतिर धकेल्ने कसरत भइरहेकाले प्रतिगमन प्रवृत्तिलाई पराजित गर्न गठबन्धन बनेको बताउनुभएको हो ।

आसन्न मंसिर ४ गतेको निर्वाचन एउटा सामान्य निर्वाचन मात्रै नभएको र राष्ट्रको रक्षाको ब्याटल भएको उहाँको दाबी थियो। देशमा अहिले प्रष्टरुपमा दुईवटा गठबन्धन आमनेसामने भएको उल्लेख गर्दै उहाँले एउटा गठबन्धन अग्रगमनतिर अर्को पश्चगमनतिर, एउटा संविधान जोगाउनेतिर र अर्को संविधान मास्नेतिर देखिएको धारणा राख्नुभयो।

प्रचण्डले विस्तृत शान्ति सम्झौतापछि क्रमशः अगाडि बढेको सहमतिकै आधारमा वर्तमान गठबन्धन तयार भएको उल्लेख गर्नुभयो।

यस्तै, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रतिगामी शक्तिले लोकतान्त्रिक मूल्य र मान्यता उल्ट्याउन लागिपरेको भन्दै त्यस्तो गतिविधि कुनै हालतमा सह्य नहुने बताउनुभयो। भट्टराईले आगामी निर्वाचनमा जनविरोधी शक्तिलाई पराजित गर्नुको विकल्प नभएको स्पष्ट पार्नुभयो।

यस्तै, नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले लोकतन्त्रको रक्षाका लागि पनि गठबन्धनले कुनै पनि हालतमा जित्नै पर्ने धारणा राखुभयो।

नेता सिंहले गठबन्धनको पवित्र उद्देश्य भएकाले नेपाली जनताले समेत साथ दिने र विजयी गराउने विश्वास व्यक्त गर्नुभयो । वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट काठमाडौं क्षेत्र नं ७ मा प्रतिनिधिसभातर्फ मानुषी यमी भट्टराई उम्मेदवार हुनुहुन्छ ।

Back to top button