
काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औं जन्मजयन्ती मनाइएको छ।
आज नेपाल प्रज्ञा–प्रतिष्ठानले एक औपचारिक कार्यक्रम गरी महाकवि देवकोटाको जन्मजयन्ती मनाएको हो। जन्मजयन्तीको अवसर पारेर प्रज्ञा–प्रतिष्ठानको महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्रहालयमा उहाँको व्यक्तित्व चर्चा तथा रचनावाचन कार्यक्रमसमेत गरेको थियो ।
महाकवि देवकोटाको जन्म वि.सं. १९६६ साल कार्तिक २७ गते भएको थियो। कार्यक्रममा कवि देवी नेपालले महाकवि देवकोटाको व्यक्तित्व बारे चर्चा गर्दै देवकोटाको सामाजिक, सांस्कृतिक र जिम्मेवारीको पक्षहरु विभिन्न भएपनि कृतित्वको पक्ष सबैभन्दा बलियो भएको बताउनुभयो।
उहाँले महाकवि देवकोटाले नेपाली भाषा प्रकाशिनी समिति, युगवाणी र इन्द्रेणी पत्रिकाको सम्पादक, नेपाली साहित्य परिषद्को सभापति, काव्य प्रतिष्ठानको अध्यक्ष लगायतको जिम्मेवारीमा रहेर उल्लेखनीय काम उल्लेख गर्नुभयो। नेपाल प्रज्ञा–प्रतिष्ठानको परिकल्पनाकार नै महाकवि देवकोटा भएको उहाँको भनाइ थियो।
कवि नेपालले महाकवि देवकोटाले वि.सं. १९९१ साल मंसिर १५ गतेको गोरखापत्रमा कविता प्रकाशन गरेर नेपाली साहित्यमा औपचारिक रुपमा प्रवेश गर्नुभएको भन्दै उहाँले २४ वर्ष ९ महिना १४ दिनसम्म औपचारिक रुपमा कविता लेखनको कर्म गर्नुभएको उल्लेख गर्नुभयो। नेपालले देवकोटाको सम्झनामा कविता वाचन समेत गर्नुभएको थियो।
सो कार्यक्रममा कवि मञ्जिला अनिलले पनि महाकवि देवकोटाले आफ्नो जीवनकालमा लेख्नुभएको अन्तिम कविता वाचन गरेर सुनाउनुभयो ।
महाकवि देवकोटाको निधन वि.सं. २०१६ साल भदौ २९ गते भएको थियो।
महाकवि देवकोटाको जन्म लक्ष्मीपूजाको दिन भएपनि प्रज्ञा प्रतिष्ठानले महाकविको जन्म दविसको पूर्वसन्ध्यामा कार्यक्रम गरी महाकविको योगदानको स्मरण गरेको हो।