मोरङ क्षेत्र ६ ‘ख’का जनता भन्छन्ः गुनासो सुनाउन जनप्रतिनिधि भेट्न पाइयोस

विराटनगर । चुनावी माहौल बनाउँदै घरदैलो अभियानमा आउने उम्मेदवारलाई मोरङ क्षेत्र नम्बर ६ ‘ख’ का जनताले जनप्रतिनिधि भनेको आवश्यक परेका बेला सहजै भेट्न पाउनुपर्ने बताउने गरेका छन् ।

चुनावका बेला नेताहरु आउने र ठूला ठूला कुरा गर्ने तर चुनाव जितेपछि गुनासा राख्न पनि नपाउने गरेको भन्दै जनप्रतिनिधि जस्तै व्यवहार हुन नसकेको बताएका हुन् ।

प्रदेश क्षेत्र भित्रका विभिन्न स्थानमा पुग्नुभएका त्यस क्षेत्रका उम्मेदवार पर्शुराम बस्नेत(कृष्ण) लाई जनताले यसका अलावा महानगरभित्र पनि दुर्गम क्षेत्रका रुपमा यस क्षेत्रका नहर पश्चिम क्षेत्रलाई चिनिने भन्दै यस क्षेत्रको द्रुततर विकासमा ध्यान जान आवश्यक रहेको बताएका हुन् ।

क्षेत्र अन्तर्गत विराटनगर– ६ स्थित मरिक टोलमा घरदैलोमा पुग्नुभएका बस्नेतलाई स्थानीयले प्रतिवद्धता व्यक्त गरे एक पटकलाई भरोसा गर्न सकिने बताएका हुन् ।

जवाफमा उम्मेदवार बस्नेतले टोलबासीका समस्याको सूची संकलन गर्दै एक एक गरि सबै समस्या समाधान गर्न योजना बनाउने बताउनुभयो । उहाँले आफु निर्वाचित भए महानगरभित्र रहेर पनि दुर्गम गाउँ जस्तो बनेको यो टोलको विकासमा मेरो ध्यान जानेछ ।

दलित भनिने मरिक (डुम) समुदाय रहेको यस टोलमा बस्नेत पुग्नासाथ स्थानीयले घेरेर आफ्ना समस्या राखेका थिए । सडक निर्माणदेखि, स्वास्थ्य, शिक्षालगायत अरु सेवा सुविधाका सवालमा पनि आफ्नो महत्वपूर्ण भूमिका रहने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

मरिक टोल महानगरभित्र रहेपनि सडक, सरसफाई, खानेपानीजस्ता आधारभूत कुरा पनि नपुगेको टोलको रुपमा चिनिन्छ । यहाँका अधिकांशको पेशा महानगरको सरसफाई गर्ने हो ।

महानगरबासीका घर, व्यवसाय होस या महानगरपालिकाका सडक नै किन नहोस । तर उनीहरुकै सवालमा भने जनप्रतिनिधिले कहिल्यै ध्यान नदिएको गुनासो स्थानीय अशोक मरिकले बताउनुभयो ।

भोट बैंकको रुपमा मात्रै जनप्रतिनिधिले बुझ्ने र चुनावका बेला मात्र आश्वासन बाँड्ने गरेको स्थानीयको गुनासो छ । मरिक टोलमा १ सय २५ परिवारको बसोबास छ ।

यस्तै लालिगुराँस टोलका स्थानीयले पनि वडा कार्यालय नजिकै रहेपनि सडक, खानेपानीलगायतका पूर्वाधारहरु अझै पुगन नसकेको भन्दै आश्वासन बाँड्ने भन्दा काम गर्ने नेता चाहिएको बताएका छन् ।

जवाफमा बस्नेतले एक पटक परिक्षा स्वरुप जिताएर देखाउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो,‘म परिक्षा दिन तयार छु, तपाईहरुको भरोसा टुट्न दिने छैन ।’

Back to top button