लक्ष्मीपूजा पनि आजै

विराटनगर । तिहारको दोस्रो दिन कुकुर तिहार आज मनाईरहँदा लक्ष्मीपूजा पनि आजै मनाईदैछ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार तिथि घटबढका कारण आज एकैदिन कुकुर तिहार र लक्ष्मीपूजा परेको हो ।

सामान्यतया काग तिहारको भोलिपल्ट कुकुर तिहार र पर्सिपल्ट लक्ष्मीपूजा मनाउने गरिन्छ । विहान कुकुरको पूजा गरिदै छ भने आजै साँझ धनकी देवी लक्ष्मीको पूजा आरधना गरिन्छ ।

घर आँगन सफासुघ्घर राखी लक्ष्मीको भक्तिपूर्वक पूजा गरे धनधान्यले पूर्ण हुने धार्मिक विश्वास रहि आएको छ । यस वर्ष गाईपूजा भने भोली मनाइन्छ । गोरुपूजा, हलितिहार, गोवर्धनपूजा, बलिपूजा र आत्म (म्ह) पूजा कात्तिक ९ गते बुधबार परेको छ । कार्तिक शुक्ल प्रतिपदाका दिन गाई, गोरु, गोवर्धन र म्ह पूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको छ ।

प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचनअनुसार नेपाल संवत् ११४३ पनि यसै दिनदेखि सुरु हुन्छ । तिहारको मुख्य दिन भाइटीका कात्तिक १० गते परेको छ । भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

Back to top button