चितवनमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा सैनिक जवानको मृत्यु

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–४ रमाइलोडाँडा नजिक ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक सैनिक जवानको मृत्यु भएको छ ।

नवलपरासीबाट काठमाडौंतर्फ जाँदै गरेको ना ७ ख ९२३१ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको ना ४७ प ९११६ नम्बरको मोटरसाइकललाई आज विहान साढे ५ बजे ठक्कर दिँदा मोटरसाइकल चालक सैनिक जवान सर्लाहीको बागमती नगरपालिका–१० का अन्दाजी २६ वर्षीय सुनील महतोको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उहाँलाई उपचारका लागि भरतपुर ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको हो ।

महतो नेपाली सेनाको बुटवलस्थित रण शारदल गणमा कार्यरत हुनुहुन्थ्यो । दुर्घटनामा मोटरसाइकल पछाडि बस्ने सर्लाहीको बागमती–८ की १९ वर्षीया निशा मगर घाइते हुनुभएको छ ।

उहाँको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Back to top button