कतार दुतावासको कार्यक्रममा बालेन र हिमानीको भेट

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई पूर्वराजपरिवार सदस्य हिमानी शाहले भेट्नुभएको छ ।

कतार राजदूतावासले काठमाडौंको सोल्टी होटलमा फिफा विश्वकप २०२२ को सन्दर्भमा आयोजना गरेको भोजमा सरिक हुन पुग्नुभएका मेयर शाह र हिमानीबीच भेट भएको हो ।

भेटमा हिमानी शाहले बालेनलाई काठमाडौंको मेयरमा निर्वाचित भएकोमा बधाई दिनुभएको बालेनको सचिवालयले जानकारी दिएको छ । युवाहरूले राजनीतिमा हस्तक्षेप गरेको दृष्टान्त पेश गरेकामा उहाँले धन्यवाद दिनुभएको थियो ।

बालेन टिमका एक सदस्यका अनुसार हिमानी शाहले अहिले पूर्वराजपरिवारभित्र बालेनले गरेको कामको चर्चा हुने गरेको बताउनुभएको थियो । भेटमा मेयर बालेनभन्दा हिमानीले नै बढी कुरा राखेको सचिवालयको भनाइ छ ।

हिमानीले बालेनको परिवारबारे पनि चासो राख्नुभएको र उहाँहरुबीच अंग्रेजीमा कुराकानी भएको सचिवालयले जनाएको छ । कतार दूतावासले गरेको कार्यक्रममा पूर्वराजपरिवारलाई बोलाइनुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

Back to top button