कांग्रेस महामन्त्री गगन थापा र एमाले नेतृ भगवती चौधरीलाई निर्वाचन आयोगले सोध्यो स्पष्टिकरण

विराटनगर । निर्वाचन आयोगले नेपाली काँग्रेसका महामन्त्री एवं काठमाडौं क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्यको उम्मेदवार गगन कुमार थापा र नेकपा एमालेकी नेतृ तथा सुनसरी क्षेत्र नं. ३ की प्रतिनिधि सभा सदस्यको उम्मेदवार भगवती चौधरीलाई स्पष्टिकरण सोधेको छ ।

थापालाई काठमाडौं क्षेत्र नं. ४ का वासिन्दाको निम्ति निःशुल्क डेंगी परीक्षण तथा परामर्श सेवा लिएर तपाईंहरूको टोलमा आउँदैछौँ’, ‘डेंगीको बिरामी भई घरमै बस्नु भएकाहरूका लागि आवश्यक चिकित्सकीय परामर्श पनि उपलब्ध गराउने छौँ र तपाईंलाई डेंगीको परीक्षण र परामर्श आवश्यक भएमा मोबाइल नम्बर ९८६०३४०५८७ मा आफ्नो नाम, ठेगाना, सम्पर्क नम्बर एसएमएस गर्नु हुन अनुरोध छ’ भन्ने व्यहोराको ट्वीट गरेको विषयमा स्पष्टीकरण सोधेको हो ।

निर्वाचन आचारसंहिताको विपरीत हुनेगरी ट्वीटरमार्फत मतदातालाई प्रभावित गर्ने कार्य देखिएकाले कुनै माध्यमबाट पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोगमा प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्न थापालाई आयोगले निर्देशन दिएको छ ।

यस्तै नेतृ भगवती चौधरीलाई इटहरी उपमहानगरपालिका वडा नं. १४ मा कार्यकर्ता भेटघाटका क्रममा दिएको अभिव्यक्तिका आधारमा हिमालपोष्ट डट कममा प्रकाशित समाचारप्रति आयोगको ध्यानाकर्षण भएको भन्दै स्पष्टीकरण सोधेको हो ।

निर्वाचन आचारसंहिता अनुसार दफा १३ को उपदफा (१) को खण्ड (फ) मा ‘उम्मेदवार तथा निजको परिवारलाई कुनै तवरबाट डर, त्रास तथा धम्की दिन नहुने’ व्यवस्था छ । त्यसैले आचारसंहिता विपरीत हुनेगरी अभिव्यक्ति दिनुभएकाले यो पत्र तपाईंलाई कुनै माध्यमबाट प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग वा जिल्ला निर्वाचन कार्यालय, सुनसरीमा प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्न निर्देशन दिएको आयोगले उल्लेख गरेको छ ।

Back to top button