
काठमाडौं । निर्वाचन आयोगले उम्मेदवारका विरुद्ध विभिन्न पेज तथा ग्रुप बनाएर गलत प्रचार रोक्न निर्देशन गरेको प्रति नेकपा एमालेका नेता डाक्टर भीम रावलले टिप्पणी गर्नुभएको छ ।
उहाँले समाजिक सञ्जाल मार्फत नै आयोगको यो निर्णयप्रति टिप्पणी गर्दै नेपालको संविधानको धारा १७ को विचार र अभिव्यक्तिको स्वतन्त्रता र १९ को सञ्चारको हकविरूद्ध रहेको उल्लेख गर्नुभएको छ ।
निर्वाचन आयोगले सामाजिक सञ्जालमा झुठा पेज र ग्रुप बनाएर दलका नेताविरूद्ध भ्रामक प्रचार गर्नेलाई कारबाही गर्ने बताएपछि उहाँले यस्तो बताउनुभएको हो ।
नेता रावलले आयोगलाई शिर्ष नेताहरुलाई अहिले नै विजयी घोषणा गरिदिए कसो होला भन्दै व्यङ्ग्य समेत गर्नुभएको छ । उहाँले लेख्नुभएको छ,‘कसैलाई मतदान गरौं वा नगरौं भन्न नपाइने भए निर्वाचन आयोगले ‘शीर्ष’ ठानेका नेताहरूलाई अहिले नै ‘विजयी’ घोषणा गरिदिए कसो होला ?’
आयोगले हिजो विज्ञप्ति जारी गर्दै ‘No Not Again’, ‘NO NOT AGAIN’ र ‘No Not again’ नामका फेसबुक पेज र ग्रुपलाई बन्द गर्न निर्देशन दिएको छ ।
यी पेजबाट भ्रामक र द्वेषपूर्ण श्रव्य र श्रव्यदृश्य सामग्री प्रकाशन भएकोले बन्द नगरे विद्युतीय कारोबार ऐन अन्तर्गत कारबाही गर्ने चेतावनी आयोगले दिएको छ ।