
विराटनगर । तराईका क्षेत्रमा धुमधामका साथ मनाइने छठ पर्वको रौनक सुरु भएको छ । छठ पर्वलाई भव्यता प्रदान गर्न यतिबेला जलासय किनारहरु धमाधम सिंगारिँदै छ ।
तराईका खोला, पोखरी र नहर क्षेत्रमा रहेका आ–आफ्ना घाट (पूजा गर्ने स्थल) को सरसफाई र सिंगार्ने काम शुरु भएको छ । मुख्य मुख्य चोक चोकमा विजुली बत्तिदेखि विभिन्न ध्वजा पताकाले घाटलाई सिंगार्ने काम भइरहेको छ ।
यस्तै छठ पर्वको तयारी स्वरुप श्रद्धालुहरुले आजदेखि उपासनाको क्रम सुरु गरेका छन् । आज ‘नहाय–खाय’ विधि गरिँदैछ । यो विधि कार्तिक शुक्ल चौथी तिथिमा गरिन्छ ।
व्रतालुले पवित्र स्थानमा स्नान गरी व्रत सङ्कल्प गरेर चोखो खानेकुरा खाने गरिन्छ । तृतीयापछि दिउँसो चौथी तिथि लाग्ने भएकाले छठ आजदेखि नै सुरु भएको हो । सात्विक भोजन सुरु गरेर व्रत विधि सुरु हुने परम्परा छ ।
श्रद्धा, निष्ठा र आत्मिक शुद्धिलाई अत्यन्त महत्व दिइने यस पर्वका पूजा, प्रसाद सामग्री ठकुवा (गहुँको पिठो र सख्खर मिसाएर शुद्ध घिउमा बनाइने खास परिकार), भुसुवा (कसार) र अन्य मिष्टान्न परिकार ढिकी, जाँतोमा कुटिएको र पिँधिएको चामल र गहुँको पिठोबाट नै पकाउने परम्परा छ। यी परिकार पकाउन चुल्हो पनि नयाँ प्रयोग गरिन्छ।
छठ पर्वमा सूर्यलाई अरघ्य दिने र हात उठाउने समयमा ज्यामिर, बिमिरो, बोटसहित उखालिएको अदुवा, बेसार र फुर्कोसहितको उखु आवश्यक पर्छ।
आज ‘अरबा–अरबाइन’ र ‘नहाय–खाय’ विधि गर्ने व्रतालुले पञ्चमीका दिन दिउँसभरि निराहार व्रत बसी राति सख्खरमा पकाइएको अरवा चामलको खिर कूलदेवता र छठीदेवीलाई चढाएर प्रसादस्वरुप खानेछन्। यो विधिलाई मिथिलामा ‘खरना’ भनिन्छ।
त्यसपछि षष्ठी तिथिका दिन निराहार व्रत बसेर साँझपख मनोरम घाट बनाइएको जलाशयमा पुगी कम्मरसम्म पानीमा चोबलिएर नुहाएसँगै अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ। सप्तमीका दिन बिहानै उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठपर्व सम्पन्न हुन्छ।