महानगरका मेयर– उपमेयरको टोलीद्धारा छठ पूजास्थलको अनुगमन

विराटनगर । छठ पूजाका लागि निर्माण गरिने घाट (पूजा स्थल) को अवस्था बुझ्न आज विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्कीलगायतको टोलीले विभिन्न क्षेत्रमा पुगेर अनुमगन गरेको छ ।

जलासय किनारमा घाट बनाई श्रद्धालुहरुले छठ पूजा गर्ने गर्छन् । श्रद्धालुलाई सहयोग होस भन्ने उद्देश्यका साथ महानगरले स्थलगत अनुगमन गरेको उपमेयर शिल्पा निराला कार्कीले बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालासहितको टोलीले घाटको अनुगमन गर्ने क्रममा विराटनगरको दक्षिणी क्षेत्रको नहरमा फोहोर भेटिएपछि तत्काल हटाउन विभागीय कर्मचारीहरुलाई निर्देशन दिइएको छ ।

टोलीले सुनसरी–मोरङ सिंचाई आयोजनाको नहर क्षेत्र तथा सिङ्घिया खोला क्षेत्रमा अवलोकन गरेको हो । अनुगमनका क्रममा स्थानीयले महानगरको पहलमा समयमै नहर र खोलाको सरसफाई गरिएका कारण छठ पूजा गर्न सहज भएको बताएका थिए ।

उनीहरुले हरेक वर्ष यसरी नै सफाई गरिदिन आग्रह गरेका छन् । मेयर कोइरालाले महानगरले छठ पर्वलाई भव्य बनाउन कुनै कसर बाँकी नराखेको बताउनु भयो ।

Back to top button