दक्षिण कोरियामा भागदौडबाट भएको क्षतिप्रति आज प्रम देउवाद्वारा दुख व्यक्त

काठमाडौं । दक्षिण कोरियामा हेलोविन पर्व मनाउने क्रममा गएराती मृत्यु हुनेप्रति प्रधानमन्त्री शेरबहादुर देउवाले संवेदना व्यक्त गर्नुभएको छ ।

प्रम देउवाले सियोलमा हेलोविन उत्सवमा भएको भागदौडमा धेरैले जीवन गुमाएको खबरले आफू निकै दुखी भएको बताउनुभएको छ । उहाँले ट्विट गर्दै सो घटनामा घाइते भएकाको सिघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

विश्वका धेरै सहरहरूमा हेलोविन पर्व मनाइन्छ। विशेषगरी यी चाडपर्वहरू पश्चिमी देशहरूले मनाउने गरेपनि अहिले विश्वका अन्य भागमा पनि मनाउन थालिएको छ । दक्षिण कोरियाको राजधानी सियोलमा सो पर्व मनाउने क्रममा हिजो साँझ २९ अक्टोबर २०२२ मा भागदौड मच्चिएको थियो।

सो भागदौडमा १९ विदेशीसहित १ सय ५१ जनाको मृत्यु भएको छ भने धेरै घाइतेको उपचार भइरहेको छ । दुर्घटनामा २ सय ७० मानिस बेपत्ता भएको उजुरी  परेको छ। मृत्यु हुनेमा अधिकांश २० देखि ३० वर्ष उमेरका रहेका छन् । घटनामा ७६ जना घाइते भएका छन् भने १९ जनाको अवस्था गम्भीर रहेको सञ्चार माध्यममा उल्लेख छ।

हिजो साँझ यी मानिसहरू नो मास्क हेलोविन मनाउन सियोलको इटावान क्षेत्रको प्रसिद्ध रात्रि स्थलमा भेला भएका थिए। कोरोना संङ्क्रमणपछिको यो पहिलो हेलोविन पर्व हो। तीन वर्षमा मनाइँदै गरेको सो पर्वमा धेरै भीड थियो।

साँघुरो सडकमा धेरै मानिस जम्मा भएकाले सडक अवरुद्ध भएको थियो । राति १० बजेर २० मिनेट जाँदा अचानक भागदौड मच्चिएको थियो । हजारौंको भीडले सयौं मानिसहरूलाई कुल्चिरहेका थिए।

उद्धार टोली, दमकल, स्थानीय प्रहरी र एम्बुलेन्ससहित स्वास्थ्यकर्मीहरू घटनास्थल पुगुन्जेल १ सय ५१ जनाभन्दा बढीले ज्यान गुमाइसकेका थिए।

राष्ट्रपति युन सुक योलले दक्षिण कोरियामा राष्ट्रिय शोक घोषणा गर्नुभएको छ ।

Back to top button