अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य

विराटनगर । छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ । पछिल्ला वर्षहरुमा छठ पर्वको रौनक समेत बढ्दै गएको छ । छठ पर्वका बेला हरेक जलासय किनार बेहुली झै सिंगारिएका छन् ।

पूजा स्थल (घाट)लाई विभिन्न ध्वजापताका र केराका थम्बाहरु गाडेर निकै मनमोहक बनाइएको छ । विजुली बत्तिको झिलिमिलीले जलासय किनार धपक्क छन् ।

एक भन्दा अर्को राम्रो घाट बनाउने प्रतिष्पर्धा चल्दा जलासय किनार पुग्ने जनमानसको उपस्थिती पनि बढ्दै गएको छ । छठ पर्वको व्रत बस्नेमा सवै समुदायको सहभागिता बढ्दै गएको बताउनुहुन्छ विराटनगर ५ का जितन मण्डल ।

उहाँका अनुसार विभिन्न मनोकांक्षा पूरा गर्न भाकल गरेर नै छठको व्रत बस्ने परम्परा समेत छ । यसरी भाकल गरेर निष्ठापूर्वक व्रत बसिर छठ पूजा गरे मनोकांक्षा पूरा हुने विश्वास श्रद्धालुहरुमा पाइन्छ ।

यसरी मनोकांक्षा पूरा हुँदै गएपछि सुरुवाती दिनमा तराईका क्षेत्रमा मात्रै मनाइने यो पर्व अहिले सबै क्षेत्र र समुदायले मनाउने क्रम बढ्दै गएको श्रद्धालुहरुको भनाई छ ।

छठपर्वको अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिने बेलामा बस्ति नै रित्तिनेगरि मानिसहरु पायक पर्ने जलासय किनार पुग्दा मेला लागेझै दृष्य देख्न सकिन्छ । आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएपछि कतिपय स्थानमा घाटमा नै भजनकिर्तन गर्दै जाग्राम बस्ने चलन समेत छ ।

भोली विहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व सम्पन्न हुन्छ र त्यसपछि ठेकुवा, भूसुवा, केरा, नरिवललगायतका सामाग्रीहरु छठको प्रसादको रुपमा ग्रहण गर्ने र छरछिमेक र इष्टमित्रलाई समेत वितरण गर्ने परम्परा रहि आएको छ ।

Back to top button