
विराटनगर । मोरङ क्षेत्र नम्बर ६ मा नेकपा एमालेबाट लालबाबु पण्डित उम्मेदवार हुनुहुन्छ भने नेपाली कांग्रेसबाट डा. शेखर कोईराला प्रतिनिधिसभाका लागि चुनावी मैदानमा हुनुहुन्छ ।
प्रतिनिधि सभामा दुई चिनिएका अनुहार चुनावी मैदानमा लागेको भएपनि प्रदेश सभामा भने अधिकांश नयाँ अनुहार छन् । आफु सत्तामा हुँदा क्षेत्रको विकासका लागि छुट्याएको बजेट देखाएर पण्डित भोट माग्दै हुनुहुन्छ भने पार्टीभित्र सभापति शेरबहादुर देउवा इतरको समूहको नेतृत्व गर्नुभएको डा. कोइराला आफ्नो राजनितिक शक्ति लिएर चुनावी मैदानमा हुनुहुन्छ ।
क्षेत्र नम्बर ६ (१)मा नेकपा एमालेबाट रीता न्यौपाने चुनावी मैदानमा हुँदा उहाँको प्रतिष्पर्धिका रुपमा गठबन्धनबाट माओवादी केन्द्रका जीवन आचार्य हुनुहुन्छ । न्यौपाने बुढीगंगामा रहेर विभिन्न सामाजिक राजनीतिक अभियान सँगै शिक्षण संस्था सञ्चालन गर्दै आउनुभएको छ भने आचार्य नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका ज्वाईं हुनुहुन्छ ।
अघिल्लो आम निर्वाचनमा एकाएक उम्मेदवार बन्नुभएका आचार्य पराजित हुनुभयो । तर त्यसपछि अधिकांश समय काठमाडौं रहँदै आउनुभएका आचार्य उम्मेदवार बनेपछि भने क्षेत्रमा रहेर जनताको घरदैलोमा हुनुहुन्छ ।
यसअघि नयाँ अनुहारका रुपमा आउनुभएका आचार्य ५ वर्षसम्म शक्तिमा रहनुभएका ससुरा प्रचण्डसँगै रहेपनि क्षेत्रको विकासमा योगदान नगरेको स्थानीयको आरोप छ । पुनः यसपटक पनि उम्मेदवार बनेपछि प्रचण्डले आफ्ना परिवार भित्रका सदस्यलाई मात्र संरक्षण गर्ने गरेको भनेर टिकाटिप्पणी हुँदै आएको छ ।
यस्तो अवस्थामा आचार्यलाई मतदाता रिझाउन सकस भएको पाइन्छ । आचार्य निर्वाचित भएर गएपनि क्षेत्रमा नआउने डर स्थानीयमा देखिन्छ, भने नेताका ज्वाईकै मात्र पछि लाग्ने हो भने पार्टीभित्रका अन्यको पालो नआउने पार्टी पंक्तिभित्र पनि चर्चा हुने गरेको छ ।
अझ पछिल्लो घरदैलो अभियानकै क्रममा आचार्यले दिएको अभिव्यक्तिले सर्वत्र आलोचना हुँदा उहाँलाई सकस चुँलीदै गएको छ ।आचार्यले महिलाप्रति लक्षित गर्दै दिएको अभिव्यक्तिको भिडियो क्लिप सार्वजनिक भएसँगै महिलाहरु उहाँका विरुद्ध संगठित हुँदै गएका छन् ।
उता क्षेत्रबासि तमाम जनताकी छोरी हुँ भन्दै हिड्ने रितालाई आचार्यका गतिविधिले सहज बनाउँदै लगेको स्थानीयको बुझाई छ । शिक्षीत, मेहनती र सधैं जनताका बिचमा रहेर काम गर्ने एक मात्र महिला उम्मेदवारको रुपमा देखिनुभएकी न्यौपानेलाई संरक्षण गर्नुपर्ने मत बढ्दै गएको स्थानीयको भनाई छ ।
यता ६ (२) मा पनि नयाँ अनुहारका रुपमा आएको पर्शुराम बस्नेत भन्दा पूरानै अनुहारका रुपमा उम्मेदवार बन्नुभएका केदार कार्कीलाई सकस देखिएको छ ।
गठबन्धनबाट नेपाली कांग्रेसका कार्की प्रदेश १ को आन्तरिक मामिला मन्त्री हुनुहुन्छ । उहाँ मन्त्री हुँदा गरेका कामले पटक पटक विवादमा तानिएपछि उहाँको लोकप्रियता पार्टी भित्रै खस्कदो छ ।
आफु प्रतिपक्षमा हुँदा सरकारको तिब्र विरोध गर्दै लोकप्रियता कमाउन खोज्नुभएका कार्कीले मन्त्री भएपछि तीनै कामलाई निरन्तरता दिनेदेखि कानुन मन्त्रालयको समेत जिम्मेवारी वहन गर्नुपर्ने उहाँले नै कानुन मिचेर धेरै काम गरेको आरोप लाग्दै आएको छ ।
जन आधार गुमाउँदै गएका व्यक्तिले नै टिकट पाएको भन्दै पार्टी भित्र विद्रोह गर्दै गोपाल रेग्मीले स्वतन्त्रबाट उम्मेदवारी दिनुभएको छ । विराटनगरको प्रमुख प्रशासकीय प्रमुख भएर काम गर्दा ऐतिहासिक योगदान गरेको भन्दै चर्चा कमाउनुभएका रेग्मी उम्मेदवार बनेपछि कार्कीलाई थप सकस थपिएको हो ।
नेकपा एमालेबाट उम्मेदवार बन्नुभएका पर्शुराम बस्नेतले भने जनआधार बलियो बनाउँदै लगेको पाइन्छ । अहिले हरेक चोक चोकमा हुने चिया गफमा समेत बस्नेतको विजय सुनिश्चित रहेको चर्चा सुन्ने गरिएको छ ।
लामो समयसम्म राजनीतिमा युवाहरुको नेतृत्व गर्दै आउनुभएका बस्नेत पछिल्लो समय सबैको विश्वासको केन्द्र बन्दै जानुभएको क्षेत्रबासीको भनाई छ ।
मोरङ क्षेत्र नम्बर ६ (१) मा ७८ हजार ९६४ र क्षेत्र ६९२० मा ४७ हजार ७९७ गरि क्षेत्र नम्बर ६ मा कुल १ लाख २६हजार ७६१ मतदाता रहेका छन् ।