उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व सम्पन्न

विराटनगर । आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्वको विधिवत समापन भएको छ । जलासय किनारमा पूजासामग्रीसहित ब्रतालुले आदिदेव सूर्यको अर्घ्य दिएपछि छठ सम्पन्न भएको हो । यस अघि हिजो साँझ अस्ताउँदो सूर्यको अर्घ दिइएको थियो ।

चारदिनसम्म अत्यन्त निष्ठापूर्वक मनाइने छठ पर्वको आज अन्तिम दिनलाई ‘पारन’ भन्ने गरिन्छ । सन्तान एवं पारिवारिक सुख समृद्धिको कामना गर्दै अत्यन्त श्रद्धापूर्वक छठ पर्व मनाइन्छ ।

अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिन पोखरी, नदी, इनारलगायतको जलासय किनारमा हिजो दिउँसोदेखि नै पूजा सामग्रीसहित श्रद्धालु तथा ब्रतालु पूजा आराधना गरि बसेका थिए ।

चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन ब्रतालुहरु नुहाएर अरबा अरबाइन भोजन गर्ने गर्दछन् भने दोस्रो दिन साँझ प्रसादको रुपमा चामल, सक्खर र दुध मिलाएर बनाएको खीर ग्रहण गर्छन् जसलाई खरना भनिन्छ ।

यस्तै तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिन तयार पारेको पूजा सामग्री घाटमा लगेर पूजा गर्ने गरिन्छ भने चौथो दिन विहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठपर्वको विधिवत समापन हुने गर्दछ ।

व्रत सम्पन्न भएसँगै छठको प्रसादको रुपमा तयार पारिएका ठेकुवा, भुसुवा, केरा, उखु, हल्दी, अदुवा एवं विविध प्रकारको मिठाई तथा फलफुल छरछिमेक तथा इष्टमित्रलाई समेत बाँड्ने गरिन्छ ।

पछिल्लो समय छठ पर्वको रौनकता बढ्दै गएको छ । जलासय किनार सजाउने प्रतिष्पर्धा झै चल्दा बेहुली झै सिंगार्ने गरिएको छ । यस्तै छठ पर्वमा सबै सम्प्रदायको समेत उल्लेख्य सहभागिता रहने गरेको छ ।

अझ छठ पर्वमा आयोजना हुने विभिन्न सांस्कृति कार्यक्रमले युवा पुस्ताको समेत ध्यान तान्ने गरेको छ । सामाजिक सद्भाव एवं एकताको पर्वको रुपमा समेत लिइने छठ पर्वलाई भव्यताको नाममा केहि भड्किलो समेत बन्न थालेको भन्दै सस्कृतबिदहरुले चिन्ता समेत व्यक्त गर्न थालेका छन् ।

Back to top button