क्रिकेटर लामिछानेविरुद्ध आज मुद्दा दर्ताको तयारी

काठमाडौं । बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेविरूद्ध आज जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता हुँदैछ । जिल्ला सरकारी वकिलको कार्यालयले आज मुद्दा दर्ता गर्ने तयारी गरेको हो ।

बलात्कार अभियोगमा १२ वर्षसम्म कैद सजाय माग गर्दै मुद्दा दर्ताको तयारी भइरहेको स्रोतले बतायो । आज मुद्दा दर्ता गरेपछि भोलिदेखि थुनछेक बहस हुने भएको छ ।

क्रिकेटर लामिछाने २० असोजदेखि प्रहरी हिरासतमा हुनुहुन्छ । उहाँविरुद्ध तीन पटकसम्म म्याद थप गरी प्रहरीले अनुसन्धान गरेको थियो ।

एक नाबालिगले काठमाडौंको गौशालाको एक होटलमा राखेर सन्दीपले आफूलाई बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् । उजुरी पर्दा उहाँ क्यारेबियन लिग खेल्ने सिलसिलामा नेपाल बाहिर हुनुहुन्थ्यो ।

क्रिकेटर लामिछानेलाई पक्रन नेपाल प्रहरीको आग्रहमा अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्यजन नोटिस जारी गरेको थियो । त्यसपछि उहाँ काठमाडौं फर्किएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ पर्नुभएको थियो ।

Back to top button