प्रचण्ड र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता

ललितपुर । नेपालका लागि अमेरिकाका नवनियुक्त राजदूत डिन आर. थम्पसनले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

खुमलटार निवासमा आज बिहान भएको भेटवार्तामा वर्षौदेखिको दुई देशको सम्बन्ध, नेपाली राजनीति, आर्थिक विकासका बारेमा छलफल भएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ।

पूर्वप्रधानमन्त्री प्रचण्डले नेपालको विकासमा अमेरिका र अमेरिकी जनताले गर्दै आएको सहयोग र खेलेको भूमिका सह्रानीय भएको बताउनुभयो।

उहाँले भन्नुभयो ,‘नेपाल र अमेरिकबीच वर्षौदेखिको मित्रता रहेको छ। तपाईको कार्यकालमा यो सम्बन्ध अझै प्रगाढ रहने मैले विश्वास लिएको छु।’ उहाँले आफूहरु मुलुकको आर्थिक समृद्धिको अभियानमा रहेको बता‍उँदै यसमा अमेरिकाको सहयोग आवश्यक रहेको बताउनुभयो।

राजदूत आर. थम्पसनले प्राकृतिक र सांस्कृतिक विविधताले भरिएको सुन्दर मुलुकमा आउँदा खुसी लागेको धारणा राख्नुभयो। उहाँले नेपालको दिगो र समावेशी आर्थिक विकास लक्ष्य हासिल गर्न आफूहरुको सहयोग निरन्तर रहने विश्वास दिलाउनुभयो।

राजदूत थम्पसनले ७५ वर्षदेखिको नेपाल अमेरिकी सम्बन्ध आफ्नो कार्यकालमा अझै उचाई लिने विश्वास व्यक्त गर्नुभयो।

Back to top button