मोरबी पुल दुर्घटना : विश्वका विभिन्न नेताद्वारा दुःख व्यक्त

भारतको पश्चिमी राज्य गुजरातको मोरबीमा झोलुङ्गे पुल भत्किँदा भएको अकल्पनीय मानवीय क्षतिप्रति विश्व नेताहरूले गहिरो दुःख व्यक्त गरेका छन्।

अमेरिकी राष्ट्रपति जो बाइडेन, रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा, क्यानडाका प्रधानमन्त्री जस्टिन टुडो, जापानका प्रधानमन्त्री फुमियो किसिदा, पोल्याण्डका प्रधानमन्त्री मेटुझ मोरावियेकी, अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङकेनर, अष्ट्रेलियाका विदेशमन्त्री पेनी ओङले भारत सरकार, त्यहाँका जनताप्रति समवेदना व्यक्त गर्नुभएको हो ।

उक्त घटनाबाट आफूहरू स्तब्ध भएको बताउँदै उहाँहरूले दुर्घटनामा ज्यान गुमाएकाहरूका परिवारजनप्रति समवेदना व्यक्त गर्नुभएको छ । साथै उहाँहरूले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना पनि गर्नुभएको छ ।

गत आइतबार राति मच्छुनदीको झोलुङ्गे पुल भाँच्चिदा कम्तीमा एक सय ४१ जनाको मृत्यु भएको छ भने एक सयभन्दा बढी बेपत्ता भएका छन्। छठ पर्व मनाउने क्रममा भीडले खचाखच मोरबीको पुल भाँच्चिएको थियो।

दुर्घटनामा ज्यान गुमाएकामा अधिकांश महिला, बालबालिका र वृद्ध छन्। बेलाइतको शासनकालमा १९ औँ शताब्दीमा बनेको उक्त पुल मर्मतसम्भारपछि गत सातादेखि सञ्चालन गरिएको थियो।

प्रधानमन्त्री नरेन्द्र मोदी आज घटनाबारे जानकारी लिन त्यहाँ जाने कार्यक्रम छ। हिजो सम्बद्ध अधिकारीसँग उहाँले उक्त घटनाका सम्बन्धमा छलफल एवम् समीक्षा गर्नुभएको छ । समीक्षा बैठकले दुर्घटनामा मारिएकाको सम्झनामा भोली राजकीय शोक मनाउने निर्णय गरेको छ।

यसैबीच, पुल मर्मतको ठेक्का पाएको ओरेभा ग्रुप अजन्ता म्यानुफ्याक्छचरिङ प्राइभेट लिमिटेडका दुई जना प्रबन्धक, ठेकेदारलगायत नौ जना कर्तव्य ज्यान अभियोगमा पक्राउ परेका छन्।

Back to top button