३ दिनमै ८० अंकले बढ्यो नेप्से, कारोबार डेढ अर्ब नजिक

काठमाडौं । एक साताको तिहार र छठ बिदापछि सोमबारदेखि खुलेको सेयर बजार लगातार तेस्रो दिन पनि बढेको छ ।

साताको चौथो कारोबार दिन आज बजार परिसूचक नेप्से ७ दशमलव ३२ अंक (० दशमलव ३८ प्रतिशत) ले वृद्धि भएर १९३८ दशमलव ३० अंकमा बन्द भएको छ । पछिल्लो तीन दिनमा नेप्से ७९ दशमलव ८१ अंकले बढेको हो ।

गत सोमबार १६ अंकले बढेको नेप्से हिजो ५६ अंकको उच्च वृद्धि भएको थियो । लगातार दुई दिन बढेको बजारमा लगानीकर्ताले नाफा बुक गर्न खोज्दा आज उताचढाव देखिए पनि अन्तिममा नेप्से सँगै कारोबार रकम पनि बढेर बन्द भएको छ ।

आज बैंकिङ व्यापार र निर्जीवन बीमा बाहेकका सबै उपसूचक बढेका छन् । बैंकिङ उपसूचक ० दशमलव १९ प्रतिशत र व्यापार उपसूचक १ दशमलव २३ प्रतिशतले गिरावट भएको छ । सोमबार र मंगलबार सेयर मूल्य बढेका बैंकमा आज लगानीतकर्ताको नाफा बुक गर्न खोज्दा ‘सेलिङ प्रेसर’ले बैंकहरुको सेयरमूल्यमा करेक्सन आएको छ ।

हिजो ३१ भदौ यता १ अर्ब नाघेको कारोबार रकम आज बढेर करिब डेढ अर्ब पुगेको छ । आज नेप्सेमा ४३ लाख ७६ हजार ७०८ कित्ता सेयर कारोबार हुँदा १ अर्ब ४६ करोड ७९ लाख १५ हजारको कारोबार भएको छ । जसमध्ये शिवम् सिमेन्टको ७ करोड ८५ लाख ६० हजारको कारोबार हुँदा नबिल बैंकको ५ करोड ६६ लाख १८ हजार र रिडी हाइड्रोपावरको ५ करोड १९ लाख ९६ हजारको कारोबार भएको छ ।

आज नेप्सेमा कुल १८५ कम्पनीको सेयर कारोबार भएकोमा १२४ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै ५६ कम्पनीको सेयर मूल्यमा गिरावट हुँदा ५ कम्पनीको स्थिर छ । जसमध्ये कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य सर्वाधिक ८ दशमलव ७४ प्रतिशतले वृद्धि हुँदा, कर्णाली डेभलपमेन्ट बैंकको ८ दशमलव ११ प्रतिशत र जोशी हाइड्रोपवारको ५ दशमलव ९७ प्रतिशतले वृद्धि भएको छ ।

यता सबैको लघुवित्तको सेयर मूल्य सर्वाधिक ३ दशमलव ९६ प्रतिशतले गिरावट हुँदा महुली लघुवित्तको सेयरमूल्य ३ दशमलव ५ प्रतिशत र माउन्टेन हाइड्रोको सेयर मूल्य २ दशमलव ४५ प्रतिशतले गिरावट भएको छ ।

Back to top button