
रुपन्देही । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेसले जारी गरेको घोषणापत्रमा कार्यान्वयन गर्नसक्ने विषय मात्र राखेको बताउनुभएको छ ।
आज लुम्बिनी प्रदेश कार्यालयले बुटवलमा आयोजना गरेको कार्यक्रममा डा. महतले नेपाली कांग्रेसले जारी गरेको घोषणापत्र प्रचार गर्नका लागि नभएर काम गर्नका लागि भएको बताउनुभयो ।
‘जे गर्न सकिन्छ त्यो राख्ने हो, काम गर्न नसक्ने किन राख्ने?’, उहाँले प्रतिप्रश्न गर्नुभयो । उहाँले निर्वाचनपछि सबैभन्दा धेरै सिट नेपाली कांग्रेसले ल्याउने र त्यसको पार्टी सभापतिको हैसियतमा शेरबहादुर देउवालाई नै प्रधानमन्त्रीका रुपमा अगाडि सार्ने बताउनुभयो ।
कांग्रेस निर्वाचन प्रचार–प्रसार समितिका संयोजकसमेत रहनुभएका प्रवक्ता डा. महतले १ सय ६५ सिटमध्ये ९१ सिटमा नेपाली कांग्रेसका उम्मेदवार भएकाले अन्य पार्टीभन्दा निश्चितरुपमा धेरै सिट आफ्नो पार्टीको आउने दाबी गर्नुभयो ।
५ वर्ष पहिले नेकपा एमालेले जारी गरेको घोषणापत्रमा उल्लेख भएका योजना र अहिले जारी गरिएको घोषणापत्रमा समेटिएका बुँदा जनतालाई झुक्याउनेभन्दा अरु नयाँ केही नभएको उहाँले दाबी गर्नुभयो ।
कांग्रेसले जारी गरेको घोषणापत्रमा रेल चलाउने भनेको आन्तरिक यातायातका लागि दैनिक चल्ने हो, खर्च धान्न नसकिने गरी चलाउन आवश्यक नभएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी ऋण काढेर रेलमा लगानी गर्ने पक्षमा छैनौँ, चल्नसक्ने काम गर्नेछौँ ।’