
संखुवासभा । संखुवासभाको चैनपुर नपा वडानम्बर–२ का वडा सदस्य कुशल तामाङको मृत्यु भएको छ। वडा सदस्य तामाङको शव हिजो काठमाडौंमा भेटिएको चैनपुर नपाकी उपप्रमुख एलिना श्रेष्ठले जानकारी दिनुभयो।
वडा सदस्य तामाङ हिजो बिहान काठमाडौंस्थित एक होटलमा मृत अवस्थामा फेला परेको उपप्रमुख श्रेष्ठले बताउनुभयो।
खाना खाएर होटलमा सुतेको अवस्थामा तामाङ मृत भेटिनुभएको थियो। उहाँ घरायसी कामको सिलसिलामा केही दिनअघि काठमाडौं पुग्नुभएको थियो ।
तामाङको मृत्युको कारण भने खुल्न नसकेको उहाँको भनाइ छ। मृतक तामाङको शव आज दिउँसो ताङ्लेवामा अन्त्येष्टि गरिएको छ। मृतक तामाङका श्रीमती र एक छोरा छन्। तामाङ नेकपा एमालेबाट वडा सदस्यमा निर्वाचित हुनुभएको थियो।