स्वतन्त्र उम्मेदवार ढकाल देउवालाई स्वागत गर्न लाइनमा

काठमाडौं । डडेल्धुरामा प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिनुभएका सागर ढकाल प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको स्वागत गर्न मालासहित लाइनमा बस्नुभएको छ ।

चुनावी प्रचार–प्रसारका क्रममा आज डडेल्धुरा पुग्नुभएका देउवालाई स्वागत गर्न उहाँकै प्रतिस्पर्धी ढकाल माला लिएर लाइनमा बस्नुभएको हो ।

ढकालले यसपटक देउवालाई स–सम्मान बिदा गर्न भन्दै आफूले उहाँविरुद्ध उम्मेदवारी दिएको बताउनुभएको छ । कतिसम्म भने उहाँले देउवालाई पराजित गरे दुई दिनसम्म उपवास बस्ने वाचासमेत गर्नुभएको छ ।

पछिल्लो समय उहाँ डडेल्धुरामा घर–घर पुगेर भोट मागिरहनुभएको छ । उहाँले मतदाताले आफूलाई भव्य स्वागत गरेको र आफूले जित्ने बताउँदै आउनुभएको छ । तर देउवालाई हराउन मैदानमा उत्रिनुभएका ढकाल उहाँकै स्वागतमा फुलमाला लिएर लाइनमा बसेको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । उहाँले आफूले देउवालाई प्रधानमन्त्रीका रूपमा स्वागत गर्न लाइनमा बसेको प्रतिक्रिया दिनुभएको छ ।

यस्तै, देउवा ४ दिनसम्म गृहजिल्लामा बसेर मतदाता भेटघाट गर्ने कार्यक्रम छ । उहाँ २० कात्तिकमा काठमाडौं फर्कनुहुनेछ । देउवाविरुद्ध कांग्रेस बिपीबाट कर्ण मल्लले पनि उम्मेदवारी दिनुभएको छ ।

Back to top button