यो चुनावलाई सामान्य रूपमा नलिनुहोला : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आउँदो प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई सामान्य रुपमा नलिन आग्रह गर्नुभएको छ ।

आज काठमाडौंमा भएको गोरखा जिल्लाका गठबन्धनका साझा उम्मेदवारहरूको परिचयात्मक चुनावी प्रचार–प्रसार कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । आउँदो चुनाव प्रतिगामी वा अग्रगामी शक्तिलाई जिताउने भन्नेमा केन्द्रित रहेकाले महत्वकासाथ लिन उहाँले आग्रह समेत गर्नुभयो ।

‘यो चुनावलाई सामान्य रुपमा नलिनुहोला । नेपाल एकपटक फेरि निरङ्कुशता, अराजकता, प्रतिगमनतिर जाने कि ठूलो बलिदानबाट प्राप्त उपलब्धिको रक्षा गर्दै विकास र समृद्धिको यात्रामा अघि बढ्ने भन्ने कुराको लडाइँ हो’, उहाँले भन्नुभयो, ‘नेपालमा राजनीतिक स्थिरता र विकासको नयाँ युगतिर अब ढुक्कसँग जान सकिने वातावरण बनाउनुछ । अब यो राजनीतिक प्रक्रियाको सफलताको निम्ति आर्थिक विकास अपरिहार्य सर्त छ ।’

उहाँले आफ्नो गोरखा आगमनलाई ठूलो चुनौती र अवसरको रुपमा लिएको पनि बताउनुभयो । उहाँले गोरखाका नागरिकले आफूलाई नेपालको राजनीतिक परिवर्तनलाई आर्थिक परिवर्तनसहित समृद्ध गर्ने अवसर प्रदान गर्नेमा आफू विश्वस्त रहेको समेत बताउनुभयो ।

Back to top button