विकासको पहरेदार बनिदिन ढकाललाई आग्रह

विराटनगर । मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि यतिबेला उम्मेदवारहरु चुनावी मैदानमा छन् । चुनावी प्रचारमा घर दैलो र विभिन्न स्थानमा कोणसभामा उम्मेदवारहरु सक्रिय रहेका बेला जनताले भने स्थानीय तहले नगरेका कामको आक्रोश पोख्ने गरेका छन् ।

विशेष गरि स्थानीय सरकारका रुपमा रहेका पालिकाहरुले गरेका बेथिती, त्यहाँ भएका भ्रष्टचार र जनतालाई गरिएका वेवास्ता बढीजसो गुनासो हुने गरेको छ । एकपटक निर्वाचित भइसकेको उम्मेदवार भन्दा नयाँ उम्मेदवारप्रति जनताको आशा र भरोसा बढी देखिने गरेको छ ।

मोरङ क्षेत्र नम्बर ४ मा सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार अमनलाल मोदी प्रतिनिधी सभा सदस्यको उम्मेदवार हुनुहुन्छ । उहाँ यसअघि पनि दुई पटक सोहि क्षेत्रबाट प्रतिनिधिसभामा निर्वाचित भइसक्नुभएको छ । यद्यपी उहाँले जनअपेक्षा अनुसार काम गर्न नसकेको स्थानीयको गुनासो छ । त्यहि भएर त्यस क्षेत्रका जनताले पहिलो पटक उम्मेदवार बन्नुभएका नेकपा एमालेका नेता विनोद ढकालप्रति बढी विश्वास र भरोसा गरेको सुनाउँछन् ।

घर दैलोकै क्रममा विराटनगर– ३ मा पुग्नुभएका ढकाललाई त्यहाँको फलैचामा जम्मा भएका स्थानीयले विराटनगर महानगरपालिकाका तत्कालिन मेयर भीम पराजुलीप्रतिको आक्रोश पोखे । दैनिक हजारौंको संख्यामा ठूला–ठूला सवारी साधन सञ्चालन हुने सडक निर्माणका क्रममा भएको भ्रष्टचार औल्याउँदै स्थानीयले ढकाललाई भने,‘हेर्नु यो सडक पिच गर्ने भनेर अनियमितता भएको छ, हामी दिनरात धुलो खाएर बस्नुपरेको छ । आज बाध्य भएर सडकमा ढाट लगाएर विरोधमा छौं । तपाईले यसको खबरदारी गरिदिन पर्‍यो ।’

यस्तै विराटनगर १ को घर दैलोमा पुग्नुभएका ढकाललाई पनि स्थानीयले महानगरपालिकाले अपेक्षाकृत जनताको काम गर्न नसकेको भन्दै विकासको पहरेदार बनिदिन आग्रह गरे । जवाफमा ढकालले आफु यस क्षेत्रको विकासकै लागि उम्मेदवार बनेको भन्दै सधैं जनताको साथमा रहेर अघि बढ्ने बताउनुभयो ।

उहाँले भन्नुभयो,‘यस क्षेत्रमा धेरै काम गर्नुछ, समग्रमा यहाँका जनताको जीवनस्तर उकास्नु छ, अधुरा काम पूरा गर्नुछ, मिलेर अघि बढौं म सधैं तपाईहरुको साथमा हुनेछु ।’

त्यसो त प्रतिनिधी सभा जस्तै प्रदेश तर्फ पनि उस्तै गुनासा र अपेक्षा आउने गरेको छ । क्षेत्र नम्बर ४ (१)मा नेपाली कांग्रेसका गुरुराज घिमिरे र नेकपा एमालेका जयप्रकाश चौधरी बिच प्रतिष्पर्धा छ । घिमिरे नेपाली कांग्रेसबाट लामो समयदेखि सोहि क्षेत्रबाट राजनिति गर्दै आउनुभएको छ भने चौधरी विभिन्न सामाजिक क्षेत्रमा लामो समय काम गरेर राजनितीमा आउनुभएको युवा नेता हुनुहुन्छ ।

बौद्धिक व्यक्तित्वको छवी बनाउनुभएका चौधरीसँग स्थानीयको भरोसा बढी रहेको पाइन्छ । ‘नयाँ हुन्, केहि गर्छन् भन्ने लागेको छ’ ग्रामथानको एक चियापसलमा भेटिनुभएका रामनारायण राजबंशीले भन्नुभयो ।

यता ४ (२)मा भने गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका भीम पराजुली र नेकपा एमालेबाट जीवन घिमिरे उम्मेदवार बन्नुभएको छ । पराजुली विराटनगर महानगरका पूर्व मेयर हुनुहुन्छ भने घिमिरे प्रदेश १ का सामाजिक विकास मन्त्री हुनुहुन्छ ।

पराजुलीसँग महानगरबासी आक्रोशित छन् भने पार्टीभित्रै चर्को गुटबन्दी गर्ने उहाँलाई पार्टीभित्रकै ठूलो असहयोग रहने कांग्रेस कार्यकर्ताको बुझाई छ । महानगरको नेतृत्व पराजुलीले गरिरहँदा विभिन्न विवादमा तानिएको तथा महानगरको आर्थिक अवस्था डामाडोल बनाएको आरोप पराजुलीलाई लाग्ने गरेको छ ।

उता घिमिरेप्रति भने प्रदेश सरकारमा रहँदा उल्लेख्य काम गर्ने नेताका रुपमा चित्रण गर्ने गरिएको छ । कोरोनाको महामारिमा घिमिरेले खेलेको भूमिका, सिंघिया खोलाको सरसफाई, शिक्षाको गुणस्तरवृद्धिका लागि खेलेको भूमिकादेखि खेलकुद क्षेत्रमा उहाँले गरेको योगदानको निकै चर्चा हुने गरेको छ । तिनै कामको स्मरण गर्दै क्षेत्रका जनताले घिमिरेप्रति नै बढी विश्वास गरेको पाइन्छ ।

Back to top button