
काठमाडौं । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि आवश्यक सबै मतपत्र छापिएको छ ।
निर्वाचन आयोगले जनक शिक्षा सामग्रीलाई प्रत्यक्ष निर्वाचन तर्फका मतपत्र छपाउन दिएको थियो । आयोगले दिएको २० गतेसम्मको समयसीमा भन्दा २ दिन अगावै जनक शिक्षा सामग्रीले मतपत्र छापेर सकेको हो ।
आज जनक शिक्षा सामग्रीमा मतपत्र छपाइ सम्बन्धी कामको अवलोकन गर्दै निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आयोगको २० गतेसम्म मतपत्र छापिसक्नुपर्ने समयावधि भन्दा २ दिन अगावै सबै मतपत्र छापिएको बताउनुभयो ।
उहाँले ८ करोड ३ लाख ९४ हजार ५ सय मतपत्र छपाइ सकिएको र नमूना मतपत्र २२ लाख गरी कुल करिब ८ करोड २५ लाख मतपत्र छापिएको बताउनुभयो ।
आयुक्त भण्डारीले दुर्गम ठाउँमा यसअघि नै मतपत्र पठाइएको पनि बताउनुभयो । ‘कर्णाली, सुदूरपश्चिम, लुम्बिनी, गण्डकी प्रदेशमा ढुवानी सम्पन्न भइसकेको छ, प्रदेश १, मधेस प्रदेश र वागमती प्रदेशमा बाँकी छ, यो छिटै हुन्छ,’ उहाँले भन्नुभयो,‘चुनौतिपूर्ण काम छाप्ने थियो, ढुवानी छिटै हुन्छ ।’
समानुपातिक निर्वाचन प्रणालीतर्फको करिव ४ करोड मतपत्र भने यसअघि नै छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ । आयोगको पछिल्लो तथ्यांकअनुसार निर्वाचनमा कुल १ करोड ७९ लाख ८५ हजार ७० जना मतदाता छन् ।
यी मतदाताहरुले समानुपातिक तथा प्रत्यक्ष २ प्रणालीका लागि ४ वटा मतपत्रमा भोट हाल्नुपर्ने हुन्छ । जस अनुसार आगामी निर्वाचनका लागि करिब ८ करोड मतपत्र आवश्यक पर्छ ।