
विराटनगर । प्रदेश १ को रमणीय पर्यटकीय शहर धरानबाट प्याराग्लाईडिङको व्यावसायिक उडान शुरु भएको छ ।
धरान उपमहानगरपालिका वडा नम्बर–४ स्थित छोटी मोरङबाट धरान स्काई एडभेन्चर प्याराग्लाईडिङ प्रालीले व्यासायिक उडान शुरु गरेको हो ।
धरान आउने आन्तरिक तथा बाह्य पर्यटकलाई आर्कषित गर्ने उदेश्यले व्यावसायिक उडान थालेको धरान स्काई एडभेन्चरका संचालक तथा पर्यटनकर्मी रोशन अधिकारीले बताउनुभयो ।
भेडेटार नजिकैको छोटी मोरङदेखि धरान बजार परिक्रमा गराई धरान रंगशाला र बुढासुबबा मन्दिर मुनिको सेउती खोला किनारमा ल्याडिङ गराईने गरिएको उहाँले बताउनुभयो । प्याराग्लाईडिङ उडानका लागि पाईलटहरू भुपाल चाम्लिङ राई, शालिग्राम खड्का, मिलन तामाङ, राजेश लिम्बु र तारामणि राईले पर्यटकहरूलाई आकासमा उडाईरहनुभएको छ ।
पोखराको सारङकोटमा मात्रै उडान हुदै आएको प्याराग्लाईडिङ धरानमा पनि शुरु भएसँगै पर्यटकहरू धरान आउन थालेका छन् । प्याराग्लाईडिङबाट आकासमा उड्ने पर्यटकका लागि ७ हजारमा ३० मिनेटको हवार्य यात्रा गराईने सञ्चालक अधिकारीले बताउनुभयो।
यस्तै, ३० मिनेटको समयमा पर्यटकहरूलाई फोटो, भिडियो खिच्ने व्यवस्था समेत मिलाईएको उहाँले बताउनुभयो ।
प्याराग्लाईडिङमा उड्ने पर्यटकहरूलाई पर्यटकीय स्थल भेडेटार, धरान बजार, पहाडका रमणीय स्थलहरू र सप्तकोसी नदीको माथिल्लो भागसम्म दृश्यावलोकन गराईने प्याराग्लाईडिङ चालकदलका सदस्य भुपाल चाम्लिङ राईले बताउनुभयो ।
केही वर्ष अघिदेखि परीक्षण उडान मात्र गरिए पनि यस वर्षदेखि व्यावसायिक उडान थालिएको उहाँको भनाई छ ।