
काठमाडौं । बलात्कार आरोपी सन्दीप लामिछानेलाई केन्द्रीय कारागार, सुन्धारा चलान गरिने भएको छ । जिल्ला अदालत, काठमाडौंले आज लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।
जिल्ला अदालत, काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले उहाँलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।आदेशसँगै केन्द्रीय कारागार, सुन्धारा चलान गर्न भनिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिनुभएको छ ।
लामिछानेले ५ भदौमा होटल काठमाडौं इनमा लगेर बलात्कार गरेको भन्दै २१ भदौमा एकजना नाबालिकाले प्रहरी वृत्त, गौशालामा किटानी जाहेरी दिनुभएको थियो ।
जाहेरी दिएलगत्तै प्रहरीले किशोरीको विस्तृत स्वास्थ्य परीक्षण गराएको थियो । लामिछाने चाहिँ त्यसबेला क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न जमाइकामा हुनुहुन्थ्यो ।
पक्राउ पूर्जी जारी भएपछि उहाँलाई क्रिकेट एसोसिएशन अफ नेपाल (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीबाट निलम्बन गरेको थियो । एक महिनासम्म अमेरिका बसेर लामिछाने अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा डिफ्यूजन नोटिस जारी भएपछि आत्मसमर्पण गर्ने भन्दै २० असोजमा काठमाडौं फर्किनुभएको थियो । त्यसै दिन प्रहरीले उहाँलाई विमानस्थलबाटै पक्राउ गरेको थियो ।