मिचिएको भू–भाग फिर्ता ल्याएर छाड्छौंः ओली

दार्चुला । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याएरै छाड्ने दाबी गर्नुभएको छ ।

आज दार्चुलाको सदरमुकाम खलंगामा एमालेले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले राष्ट्रियताको सवालमा नेपाल एक इञ्च जमिन कसैलाई छाड्ने पक्षमा नरहेको बताउनुभयो । उहाँले भन्नुभयो,‘हामी हाम्रो मिचिएको भू–भाग फिर्ता ल्याएरै छाड्छौं ।’

आफूलाई ठूलो राष्ट्र ठान्ने भारतको चित्त भने सानो देखिएको भन्दै उहाँले भन्नुभयो, ‘हाम्रो भूमि न अरूलाई एक इन्च छोड्छौ, न अरूको एक इन्च जमीन माग्छौँ, हाम्रो नेपालको भूमि मिच्न कदापि दिँदैनौं । राष्ट्रियताको प्रश्नमा आफ्नो एक इन्च जमिन पनि पनि छाड्न मिल्दैन ।’

किर्ते खोल्सीलाई महाकाली उल्लेख गरेर भारतले ६० वर्षदेखि कालापानी, लिपुलेक र लिम्पियाधुरा मिचेको बताउँदै उहाँले मिचिएको भु–भाग फिर्ता ल्याएर छाड्ने बताउनुभएको हो ।

भारतीय पक्षले सडक निर्माणका क्रममा खसेको ढुङ्गा लागेर १२ वर्षीय बालकको मृत्यु भएको घटनामा गठबन्धन सरकारले शिघ्र एक्सन नलिएको भन्दै उहाँले टिप्पणी गर्नुभयो ।

विकास, समृद्धि र स्थिरताका लागि एमालेलाई मत दिन आह्वान गर्नुभएका ओलीले एमालेले गरेको चुनावी गठबन्धन स्वार्थको गठजोड नभएर राष्ट्रिय शक्ति भएको दाबी गर्नुभयो ।

दार्चुलाबाट एमालेको देशव्यापी चुनावी अभियान शुभारम्भ गर्नुभएका ओलीले बैतडीको पाटन र कञ्चनपुरको महेन्द्रनगरमा आयोजना हुने चुनावी सभालाई पनि सम्बोधन गर्ने कार्यतालिका छ ।

Back to top button