नेपालसंग मैत्रीपूर्ण फुटबल खेल्न ताजिकिस्तानको प्रस्ताव

काठमाडौं । ताजिकिस्तानले नेपालसंग मैत्रीपूर्ण फुटबल खेल्नका लागि प्रस्ताव गरेको छ । ताजिकिस्तानले मैत्रीपूर्ण खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)लाई प्रस्ताव पठाएको हो ।

यद्यपी ताजिकस्तानले प्रस्ताव गरेको मितिमा नेपालमा निर्वाचन हुने भएकोले यस बारेमा निर्णय भएको छैन ।

ताजिकिस्तानले नोभेम्बर २० अर्थात मंसिर ४ गतेको मिति प्रस्ताव गरेको छ । त्यही दिन नेपालमा संघिय र प्रादेशिक निर्वाचन हुँदैछ भने कतारमा फिफा विश्वकप समेत सुरु हुनेछ ।

यसअघि पाकिस्तानले २ खेल खेल्ने प्रस्ताव पठाउँदा एन्फाले निर्वाचनकै कारण देखाउँदै कात्तिक ३० गते एक खेल मात्र खेल्ने सकिने निर्णय गरेको थियो । पाकिस्तानले कात्तिक २८ र मंसिर ६ गते गरी २ खेल खेल्ने प्रस्ताव पठाएकोमा एक खेल मात्र हुन लागेको थियो ।

ताजिकस्तानले पठाएको प्रस्तावमा छलफल भइरहेको र मंसिर तेस्रो साताको मिति आफूहरुले प्रस्ताव गर्ने एन्फा स्रोतले बताएको छ ।

नेपालसँग मैत्रीपूर्ण खेलका लागि पछिल्लो समय विभिन्न देशबाट प्रस्ताव आउने क्रम जारी छ । नेपालले गत असोज ११ गते बंगलादेशसँग दशरथ रंगशालमा मैत्रीपूर्ण खेल खेलेको थियो ।

त्यसअघि ब्रुनाई, मंगोलिया लगायत देशले पनि नेपालसँग खेल्ने इच्छु देखाए पनि खेल सम्भव भएन । अझै पनि ब्रुनाईले नेपालसँग मैत्रीपूर्ण खेल खेल्नका लागि प्रयास गरिरहेको छ ।

स्पेनको चौथो श्रेणीको फुटबल सेगुन्डा फेडेरेसनको टिम सिपी (क्लब पोलिडेपोर्टिभो) कासेरेनोले पनि नेपाली टिमसँग मैत्रीपूर्ण खेल खेल्न प्रस्ताव गरेको छ । तर यस बारे आधिकारिक निर्णय भने भइसकेको छैन ।

एन्फा प्रवक्ता सुरेश साहले अहिलेसम्म पाकिस्तान बाहेक अन्य टिमसँग मैत्रीपूर्ण खेल खेल्ने विषयमा निर्णय नभएको बताउनुभयो ।

Back to top button