जनताबाट विगतमा भन्दा राम्रो प्रतिक्रिया पाइरहेको छु,सबैमा उत्साह छः प्रकाशमान सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौं क्षेत्र नम्बर १ का जनताले पानीको अभाव र सरकारी सेवामा ढिलासुस्ती भएको गुनासो गरेको बताउनुभएको छ ।

काठमाडौं क्षेत्र नम्बर १ को उम्मेदवारसमेत रहनुभएका सिंहले आज बिहानको घरदैलो कार्यक्रममा मतदाताहरुले आफूसँग पर्याप्त पानी आपूर्ति, सरकारी सेवा छिटो छरितो र संघीयताको सफल कार्यान्वयन होस् भन्ने चाहेको बताउनुभयो । उहाँले जनताका गुनासो सम्बोधन गर्न आफू हरदम तयार रहेकोसमेत बताउनुभयो ।

यस्तै, विगतमा भन्दा यस वर्ष मतदाताहरुबाट आफूलाई राम्रो प्रतिक्रिया आइरहेको भन्दै सिंहले मेलम्चीको पानी आपूर्ति र तीनै तहका सरकारलाई व्यवस्थित बनाउने कुरामा आफू प्रतिवद्ध रहेको बताउनुभयो । ’मैले यस वर्ष विगत अघिका निर्वाचनमा जाँदाका प्रतिक्रिया र अहिलेका प्रतिक्रियामा धेरै अन्तर र राम्रो प्रतिक्रिया पाएको छु,’ उहाँले भन्नुभयो, ‘सबैमा उत्साह छ ।’

उहाँले भन्नुभयो, ‘अर्को कुरा संघीयता जारी गर्नुभयो तर संघीयता अनुसारको तीन तहको सरकार राम्रोसँग कार्यान्वयन भएको पाएनौं, यो कारणले विभिन्न सेवासुविधाहरुमा सास्ती व्यहोर्नुपरेको छ भन्ने कुरा आयो । व्यवस्थापनमा ख्याल गर्नुहोला भन्नुभएको छ ।’

संघीयता अनुसार तीन तहको सरकार व्यवस्थित हुन नसकेको भन्दै उहाँले कांग्रेसले संविधानको अक्षरशः कार्यान्वयन गर्ने बताउनुभयो । ‘दुई वटा निर्वाचन त संविधान लेखनमा नै गयो, कांग्रेसको नेतृत्वमा संविधान जारी गरेका थियौं तर कार्यान्वयन गर्ने बेलामा कांग्रेसले नेतृत्व पाएन । जनताको मत पाएकाले गर्न सकेनन् । अब हामी कार्यान्वयनमा जाने हो । तीन तहको सरकारलाई संविधानको मर्म अनुसार जे अधिकार दिलाउनुपर्ने हो, कानून बनाएर हामी दिलाउनेछौं,’ उहाँले भन्नुभयो ।

नेता सिंहले सत्तारुढ पाँच दलीय गठबन्धन संविधानको रक्षा र राजनीतिक स्थिरताका लागि भएको बताउनुभयो । ‘हामीले राजनीतिक स्थिरता ल्याउन जरुरी छ, जारी भएको संविधानलाई कार्यान्वयन गर्नुपर्छ,’ उहाँले भन्नुभयो । नेता सिंहले संविधानको रक्षा र स्थिरताले नै विकास निर्माणको कार्यलाई गति दिने उल्लेख गर्नुभयो ।

Back to top button