
डडेलधुरा । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पनि २ वटा चुनावी सभालाई सम्बोधन गर्ने हुनुभएको छ । उहाँ चुनावी प्रचार–प्रसारका क्रममा बुधबार काठमाडौंबाट धनगढी हुँदै बिहीबार डडेलधुरा आउनुभएको हो ।
उहाँले बिहीबार अमरगढी र शुक्रबार गन्यापधुरा र नवदुर्गा गाउँपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्नुभएको थियो।
नेपाली कांग्रेस डडेल्धुराका सभापति भीमबहादुर साउँदका अनुसार देउवाले आज बिहान ११ बजे अजयमेरू गाउँपालिकाको भद्रपुर र दिउँसो २ बजे भागेश्वर गाउँपालिकाको रूपालमा हुने चुनावी सभामा सम्बोधन गर्नुहुनेछ ।
देउवाले भोलि बिहान ११ बजे आलिताल गाउँपालिकाको गोदाम र दिउँसो २ बजे परशुराम नगरपालिकाको जोगबुडामा हुने चुनावी सभालाई समेत सम्बोधन गर्ने साउँदले जानकारी दिनुभयो। उहाँ भोलि नै काठमाडौं फर्कने र ७ वटै प्रदेशमा हुने चुनावीसभामा पुग्ने कार्यक्रम छ।
यस्तै, डडेल्धुरामा प्रतिनिधिसभा सदस्यका लागि देउवाका साथै कांग्रेस बिपीका कर्णबहादुर मल्लका साथै स्वतन्त्र उम्मेदवारहरु सागर ढकाल, विक्रम शाही, लाल कठायत र कर्णसिंह रावल उम्मेदवार हुनुहुन्छ ।