
विराटनगर । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री डा. मिनेन्द्र रिजालले गठबन्धनमा भोट हाल्न पाउँदा आफू खुसी भएको बताउनुभएको छ ।
मोरङ क्षेत्र नम्बर–४ को ग्रामथानमा गठबन्धनको घरदैलो कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । नेता रिजालले सो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहनुभएका माओवादीका अमनलाल मोदी र प्रदेश (१) का कांग्रेस उम्मेदवार गुरुराज घिमिरेलाई मत माग्दै उहाँहरुको प्रशंसा गर्नुभयो ।
रिजालले आफू मोरङ–४ को मतदाता भएको बताउनुभएको छ । उहाँले अघिल्लो निर्वाचनमा आफूले भोट हाल्न नपाएको भन्दै यसपाली गठबन्धनका उम्मेदवारहरुलाई भोट हाल्ने अवसर मिलेको बताउनुभयो ।
प्रतिनिधिसभाका उम्मेदवार मोदीको प्रशंसा गर्दै रिजालले भन्नुभयो, ‘संविधान निर्माण गर्ने बेला पनि हामी सँगै बसेर काम गरेका हौँ । हिजो केपी शर्मा ओलीले संसद विघटन गर्दा पनि हामी मिलेर पुनःस्थापना गरेका थौँ । अब संविधान रक्षाका लागि हामीले अमनलाल मोदीलाई विजय गराउनुपर्छ ।’
रिजाल २०७४ को निर्वाचनमा मोरङ क्षेत्र नम्बर–२ बाट विजयी हुनुभएको थियो। यो क्षेत्रमा यसपटक सुजता कोइराला चुनावी मैदानमा हुनुहुन्छ ।