गृह मन्त्रालयको निष्कर्ष: आगामी निर्वाचन बिथोल्न देशभर २३ समूह सक्रिय

विराटनगर । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन बिथोल्नका लागि देशभर २३ वटा समूह सक्रिय रहेको गृह मन्त्रालयले निष्कर्ष निकालेको छ । विराटनगरमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले उक्त जानकारी दिनुभएको हो ।

‘निर्वाचनको सबै तयारी पूरा भइसकेको छ । तर पनि बहिष्कारदेखि लिएर चुनावलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न नदिन विभिन्न २३ समूह सक्रिय छन्,’ प्रवक्ता पोखरेलले भन्नुभयो,‘एउटा समूहमा ५–७ जना मात्रै पनि छन् । कुनै समूहमा धेरै संख्या पनि छ ।’

निर्वाचन विरोधी गतिविधि गर्ने समूहलाई नियन्त्रणमा लिएर उनीहरुका गतिविधि रोक्न उहाँले जिल्ला तहका सुरक्षा निकायले ध्यान दिने बताउनुभयो । उहाँले निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र निष्पक्ष रूपमा सम्पन्न गर्न विशेष सुरक्षा योजना बनाएर लागू गरिएको जानकारी दिनुभयो।

निर्वाचनमा खटिने कर्मचारी, उम्मेदवार, मतदाता, निर्वाचन सामग्री सबैको सुरक्षा सरकारको प्राथमिकतामा परेको उहाँले बताउनुभयो ।

मतदानका दिन ३ घेराको सुरक्षा प्रबन्ध गरिने उहाँले बताउनुभयो । पहिलो घेरामा नेपाल तथा म्यादी प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेनालाई परिचालन गरिने छ । निर्वाचन सुरक्षाका लागि म्यादीसहित २ लाख ९८ हजार ५ सय ८९ जना सुरक्षाकर्मी परिचालन हुने उहाँले बताउनुभयो ।

Back to top button