
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धन सरकारसँग देश बनाउने कुनै पनि किसिमको मिसन र भिजन नभएको दाबी गर्नुभएको छ ।
अध्यक्ष ओलीले स्वार्थहरुको गठजोठबाट बनेको वर्तमान सरकारसँग देश बनाउने कुनै पनि किसिमको मिसन, भिजन र गन्तव्य नभएको भन्दै आगामी निर्वाचनपछि यस्तो सरकार बन्न दिन नहुने बताउनुभएको हो ।
प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशनको आज काठमाडौंमा उद्घाटन गर्दै उहाँले देशलाई बर्बादी हुन नदिन पनि आगामी निर्वाचनमा नेपाली जनताले सरकारको विकल्प खोज्नुपर्ने बताउनुभयो।
उहाँले भन्नुभयो, ‘अब हाम्रो देशमा संघीय र प्रादेशिक निर्वाचन हुँदैछ। एउटा खास परिस्थितिमा हामी आज यस ठाउँमा उभिएका छौं। आज कार्तिक १९ गते भइसक्यो। केही दिन भित्र मंसीर ४ गते हामी राष्ट्रको भाग्य, भविष्य फैसला गर्ने आम निर्वाचन र प्रादेशिक निर्वाचन एकैदिन एकै चोटी गर्दैछौं।’