
काठमाडौं । आज ‘फस्ट शिवपुरी ट्रायल रन एण्ड साइक्लिङ’ प्रतियोगिता २०२२ सम्पन्न भएको छ। नेपाली सेना, बुढानिलकण्ठ नगरपालिका र टोखा नगरपालिकाको संयुक्त आयोजनामा ‘फस्ट शिवपुरी ट्रायल रन एण्ड साइक्लिङ’ प्रतियोगिता २०२२ सम्पन्न भएको हो।
प्रतियोगिताको २२ किलोमिटर खुल्ला पुरुष ट्रेल रनतर्फ गजेन्द्र राईले प्रथम स्थान हासिल गर्नुभएको छ । २२ किलोमिटर पुरुष ट्रेल रनमा पहिलो हुने खेलाडी राईले एक लाख रुपैयाँ नगद, ट्रफी र सम्मानपत्र प्राप्त गर्नुभएको छ ।
दोस्रोमा खड्ग बहादुर खड्का, तेस्रोमा मोहनदेव जोशी, चौथोमा खगेन्द्र भट्ट, पाँचौंमा राजन रोकाया, छैटौंमा राजेन्द्र तामाङ, सातौंमा श्रीकास राई, आडौं सुवास कार्की, नवौं गोपाल तामाङ र दशौं स्थानमा नवराज बुढा विजयी हुनुभएको छ। दोस्रो हुनेले ७० हजार, तेस्रोले ३० र क्रमशः १० औं स्थानसम्म आउने खेलाडीहरुले २५, २०, १५, १०, ७ र ५ हजार नगद पुरस्कार प्राप्त गर्नुभएको छ ।
यस्तै ३० किलोमिटर साइक्लिङमा हिमाल टमाटा प्रथम हुनुभएको छ। उहाँले उक्त दूरी एक घण्टा २१ मिनेट ६ सेकन्डमा पार गर्नुभएको थियो। प्रथम हुनुभएका टमाटाले ७० हजार नगद र ट्रफी तथा सम्मानपत्र पाउनुभएको छ ।
यस्तै दोस्रो लक्ष्मण मल्ल, तेस्रोमा कुमार तामाङ, चौथो स्थानमा किरण लिम्बु र पाँचौं नवराज न्यौपाने हुनुभएको थियो। क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं हुनेले खेलाडीहरुले ५०, ३५, २५ र १० हजार नगद पुरस्कार पाएका छन्।
साथै १५ किलोमिटर महिला ट्रेल रनमा मन्जु रावत प्रथम हुनुभएको छ । उहाँले ५० हजार पुरस्कार प्राप्त गर्नुभएको छ । यस्तै क्रमशः दोस्रो, तेस्रो चौथो र पाँचौं स्थानमा गिता विक, सुनकला राई, प्रिया राई र इन्द्रकला नेम्वाङ हुनुहुन्छ ।
विजयी प्रतियोगिहरुले ४०, ३०, २० र १० हजार नगद पुरस्कार पाएको भवानीदल गणका गणपति प्रमुख सेनानी रवी केसीले जानकारी दिनुभयो। उक्त कार्यक्रममा उपत्यका पृतनापति उपरथी योगराज शर्मा, बुढानिलकण्ठ नगरपालिका र टोखा नगरपालिकाका प्रमुखलगायतको उपस्थिति रहेको थियो।