जनप्रतिनिधिले गलत काम गरे छानविन समिति गठन गर्नुपर्छ : प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले जनप्रतिनिधिले गलत काम गरे नागरिक अगुवा सम्मिलित छानविन समिति गठन गर्नुपर्ने बताउनुभएको छ ।

काठमाडौं निर्वाचन क्षेत्र नं ५ विशालनगरमा बुद्धिजीवी तथा पेशागत समूहले आज आयोजना गरेको ‘बृहत् अन्तरक्रिया तथा साक्षात्कार’ कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

पाँच वर्षका लागि निर्वाचित सांसद गलत काममा मुछियो भने फिर्ता बोलाउन पाउने व्यवस्था हुनुपर्ने उहाँले बताउनुभयो।

उहाँले निर्वाचन जितेको एक वर्षभित्र जनताको समस्या समाधान गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो। एक वर्षभित्र बाटोघाटो, खानेपानी, स्वास्थ्यलगायतका समस्या समाधान गर्ने नेता पौडेलको भनाइ छ।

उहाँले काठमाडौं निर्वाचन क्षेत्र नं ५ का जनताको समस्या थाहा पाउन ‘सांसद एप’ निर्माण गर्ने बताउनुभयो।

‘सांसद एपमार्फत् समस्या छिटो थाहा हुने भएकाले तत्काल समाधान गर्न सकिन्छ’, उहाँले भन्नुभयो।

नेता पौडेलले सांसद विकास कोषको पैसालाई कहाँ लगानी गर्ने भन्नेबारे नागरिक अगुवा समिति निर्माण गर्ने उहाँको भनाइ छ।

Back to top button