
विराटनगर । मोरङ क्षेत्र नम्बर २ का जनताको समर्थन नेकपा एमालेतिर बढ्दै गएको पाइएको छ । उक्त क्षेत्रको प्रतिनिधिसभातर्फ नेकपा एमालेका ऋषिकेश पोखरेल र नेपाली कांग्रेसबाट सुजाता कोइराला उम्मेदवार हुुनुहुन्छ ।
पोखरेल संविधानसभा सदस्यमा निर्वाचित हुँदा क्षेत्रमा उल्लेख्य काम गर्ने नेताका रुपमा चिनिनुहुन्छ भने कोइराला पार्टीकै शक्तिशाली नेता डा. मिनेन्द्र रिजाललाई पन्छाउँदै टिकट लिएर आउनुभएको हो । उहाँ स्वर्गीय गिरिजाप्रसाद कोइरालाकी छोरी हुनुहुन्छ ।
नेकपा एमालेका जिल्ला अध्यक्ष समेत रहनुभएका पोखरेल निरन्तर क्षेत्रका जनतासँग जोडिएर काम गरिरहनुभएको नेताका रुपमा चिनिनुहुन्छ भने कोइराला चुनावका बेला मात्र त्यस क्षेत्रमा देखा परेको स्थानीयको भनाई छ ।
चुनावी तालमेलका कारण पोखरेललाई जसपाको पूर्ण समर्थन छ भने कोइराला सत्ता गठबन्धनबाट उम्मेदवार बन्नुभएको हो । समाजका विपन्न वर्गका जनतासँग अत्यन्तै घुलमिल भएर रहनुभएका पोखरेलले विगतमा आफूले निर्वाचित हुँदा गरेका र अरुले जित्दा भएका कामको तुलना गर्दै जनतासँग मत माग्दै आउनुभएको छ ।
अझ पछिल्लो समय अस्थिर राजनीतिबाट आक्रान्त जनताले समयमा मल बिउ समेत नपाएको पिडा सम्झदै स्थायी सरकारको लागि पनि नेकपा एमालेलाई नै भोट दिने तर्क गर्न थालेका छन् । स्थायी सरकार नभए देशको विकास सम्भव नहुने तर्क गर्दै जसपाका नेता भगवानचन्द यादवले भन्नुभयो,‘यतिबेला स्थायी सरकार बनाउने भनेको नेकपा एमालेले मात्रै सक्छ भन्ने जनताले बुझेका छन् ।’
अहिलेको सत्ता गठबन्धन भनेको आलोपालो गर्दै सत्तामा पुग्ने र अस्थिर राजनीतिमा रमाउनेहरुको भिड मात्र रहेको स्थानीयको बुझाई रहेको छ । अहिले मोरङ– २ मा विभिन्न राजनितिक दल त्यागेर एमालेमा प्रवेश गर्नेको संख्या बढ्दो छ भने मधेशको मुख्य दल जसपाले एमाले नेतृत्वको सरकार बन्नुपर्ने निष्कर्षसहित चुनावी तालमेल गरेको छ ।
चुनावी अभियानमा जसपाका नेता कार्यकर्ताको सक्रिय सहभागिताले जनलहर एमालेतर्फ बढाउँदै लगेको स्थानीय अपेक्षा तामाङले बताउनुभयो । मोरङ– २ का प्रदेश र प्रतिनिधि सभामा आफ्ना उम्मेदवार नभएपनि देश र जनताको भविष्यको लागि भन्दै जसपाका नेता कार्यकर्ताहरु चुनावी अभियानमा होमिएका छन् ।
रंगेली ८ मा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै जसपाका नेता यादवले भन्नुभयो,‘जनताको समर्थन एमालेलाई छ । हामीपनि तन मन र धनले एमालेका उम्मेदवारहरु जिताउन लागेका छौं । मोरङ क्षेत्र नम्बर २(१) प्रदेशसभा तर्फ नेकपा एमालेबाट डिबी कार्की र गठबन्धनबाट माओवादी केन्द्रका गणेश उप्रेती सुशील चुनावी प्रतिष्पर्धामा हुनुहुन्छ ।
समाजसेवामा लामो समयदेखि सक्रिय कार्की पहिलोपटक चुनावी प्रतिष्पर्धामा आउनुभएको हो भने उप्रेती अघिल्लो निर्वाचनमा सोही क्षेत्रमा काग्रेसका शिवनारायण गन्गाइसँग पराजित हुनुभएको थियो ।
त्यस्तै प्रदेश (२) मा एमालेका लिलाबल्लभ अधिकारी उम्मेदवार हुनुहुन्छ भने गठबन्धनका तर्फबाट काग्रेसका विनोद कार्की प्रतिष्पर्धामा हुनुहुन्छ । अधिकारी अघिल्लो निर्वाचनमा पनि सोहि क्षेत्रबाट निर्वाचित हुनुभएको थियो भने कार्की काठमाडौं बसेर व्यवसाय सञ्चालन गर्दै आउनुभएको थियो ।