
विराटनगर । प्रदेश सभा तथा प्रतिनिधिसभाको निर्वाचनको मिति नजिकिँदै जाँदा मोरङ क्षेत्र नम्बर ६ मा नेकपा एमालेमा प्रवेश गर्नेहरुको संख्या बढ्दै गएको छ ।
आज मात्रै गत स्थानीय तह निर्वाचनमा विराटनगर महानगरपालिकामा उपमेयरको उम्मेदवार रहनुभएकी अनुदेवी कामत एमालेमा प्रवेश गर्नुभएको छ । जनमत पार्टी परित्याग गर्दै उहाँ एमालेमा प्रवेश गर्नुभएको हो ।
नेकपा एमालेले विराटनगर महानगरपालिका–१२ मलंगवामा पार्टी प्रवेश कार्यक्रमको आयोजना गरेको थियो । कामतको नेतृत्वमा नेपाली कांग्रेस, जनमत र जनता समाजवादी पार्टी (जसपा)लगायतका पार्टी परित्याग गरेर १ सय १४ जना एमालेमा प्रवेश गरेको जनाइएको छ ।
विभिन्न पार्टी परित्याग गर्नेहरुलाई एमाले स्थायी कमिटी सदस्य एवं मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा सदस्य उम्मेदवार लालबाबु पण्डित, प्रदेशसभा ‘ख’का उम्मेदवार पर्शुराम बस्नेत (कृष्ण) लगायतले पार्टीमा स्वागत गर्नुभएको छ ।
नेता पण्डितले एमालेको नेतृत्वमा मात्रै मुलुकको विकास र समृद्धि सम्भव हुने भन्दै गठबन्धनले मुलुकलाई अहित हुने काम मात्रै गरिरहेको आलोचना गर्नुभयो । ‘मुलुकको विकास निर्माण अहिले ठप्प छ,’ उहाँले भन्नुभयो, ‘विकासका लागि मुलुकको नेतृत्व एमालेले गर्नुपर्छ । एमालेबाहेक अरु दलबाट विकास र समृद्धिको कल्पनासमेत गर्न सकिँदैन ।’
प्रदेशसभा सदस्यका उम्मेदवार बस्नेतले विकासमा सधैँ पछाडि परिरहेको विराटनगरको मलंगवालाई समृद्ध बनाउने जिम्मा एमालेले लिने बताउनुभयो । उहाँले विभिन्न पार्टी परित्याग गरेर एमाले प्रवेश गर्ने सबैको राजनीतिक भविष्य सुनिश्चित गरिने समेत बताउनुभयो ।
एमालेको सरकार हुँदा विकासका धेरै कामहरु भएको बताउँदै बस्नेतले ‘समृद्ध नेपाल, सुखी नेपाली’को आकांक्षा एमालेको नेतृत्वमा मात्रै पूरा हुने उल्लेख गर्नुभयो ।