
विराटनगर । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले सुशासन नभएसम्म समृद्धि र समुन्नत नेपाल नबन्ने बताउनुभएको छ ।
नेपाल मुस्लिम संघ मोरङले विराटनगरमा आयोजना गरेको लोकतान्त्रिक–बामगठबन्धनका उम्मेदवारहरुको चुनाव प्रचारप्रसार सभालाई सम्बोधन गर्दै उहाँले सुशासन कायम, भ्रष्टाचार न्यूनीकरण र दण्डहीनताको अन्त्य हुनुपर्नेमा जोड दिनुभएको हो ।
नेपाली कांग्रेसले सबै धर्म र संस्कृतिको उच्च सम्मान र इज्जत गर्ने कोइरालाले बताउनुभयो । पछिल्लो समय विराटनगरको शाख घट्दै गएको बताउँदै उहाँले विगतको शाखलाई पुनः फर्काउनुपर्नेमा जोड दिनुभयो । नेता कोइरालाले विराटनगरको विकास र समृद्धि सबै क्षेत्रका व्यक्तिहरुलाई राखेर बहस गर्नु आवश्यक रहेको औंल्याउनुभयो ।
कार्यक्रममा पूर्वमन्त्रीसमेत रहनु भएका नेता डा. मीनेन्द्र रिजालले मुलुकको विकास र समृद्धिका लागि देशभर कांग्रेससहित गठबन्धन दलले जित्नुपर्नेमा जोड दिनुभयो ।
सभामा केन्द्रीय सदस्य अमृत अर्याल, प्रदेश–१ का कोषाध्यक्ष राजेश गुप्ता, प्रदेशसदस्यका उम्मेदवार केदार कार्की, महानगर समिति सभापति दीपक चापागाईं, नेकपा एकीकृत समाजवादीका युवा नेता वसिम आलम, मुस्लिम संघ केन्द्रीय सभापति केन्द्रीय अध्यक्ष गुल्जार आलम, मोरङका आजत आलमलगायतले बोल्नुभएको थियो ।