जेष्ठ नागरिकलाई सम्मान

विराटनगर । ज्येष्ठ नागरिक सेवा समिति विराटनगर–१२ ले ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । आठौं वार्षिक साधारणसभाको अवसर पारेर समितिले वडाभित्रका ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको हो ।

कार्यक्रममा ७० वर्षभन्दा माथिका चारजना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको समितिका अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिनुभयो । मानबहादुर राई, जगहीरालाल कामत, मञ्जुकुमारी मैनाली र हरिकुमारी भट्टराई सम्मानित हुनुभएको छ ।

कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, ज्येष्ठ नागरिक समाज प्रदेश–१ का अध्यक्ष मणिकुमार अर्ज्याललगायतले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्नु भएको छ ।  कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले ज्येष्ठ नागरिकको ज्ञान र अनुभवलाई समाज निर्माणमा लगाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा विराटनगर–१२ का वडाध्यक्ष हिरालाल कामत, विराटेश्वर वृद्धाश्रमका अध्यक्ष जगतप्रसाद अर्ज्याल, विराट सामुदायिक भवनका अध्यक्ष राधेश्याम कट्टेल, आयोजक समितिका उपाध्यक्ष हरिप्रसाद भट्टराई, सचिव जीवप्रसाद रेग्मीलगायतले बोल्नुभएको थियो ।

Back to top button