स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच हुनुपर्छ : राष्ट्रपति भण्डारी

सोलुखुम्बु । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य सेवामा सबै नागरिकको सहज पहुँचमा राज्यले जोड दिनुपर्ने बताउनुभएको छ ।

विश्वको सर्वोच्च शिखर सगरमाथा जाने मार्ग सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–३ फाक्दिङमा आज १५ शय्याको ‘हिमालयन शेर्पा अस्पताल’को उद्घाटन गर्दै उहाँले संविधानमै स्वास्थ्य सेवा लिन पाउने सबै नागरिकको हक स्थापित गरिएकाले स्वास्थ्यमा सबैको पहुँच हुनुपर्ने बताउनुभएको हो ।

उहाँले राज्यले स्वास्थ्य र शिक्षामा विशेष जोड दिनुपर्ने बताउनुभयो। स्थापित यस अस्पतालबाट स्थानीय नागरिकका साथै आन्तरिक र विदेशी पर्यटकलाई ठूलो मद्दत पुग्ने पनि उहाँले बताउनुभयो।

अस्पताललाई आवश्यक पूर्वाधार र जनशक्ति व्यवस्थापनमा ध्यान दिन पनि उहाँको आग्रह छ। यसका लागि स्थानीय तहको सहयोग जरुरी भएको राष्ट्रपति भण्डारीको भनाइ थियो। सामाजिक भावना राखी गाउँमै अस्पाताल खोलेर स्थानीयलाई निःशुल्क सेवा दिने काम सराहनीय भएको उहाँले बताउनुभयो ।

नजिकै अन्य अस्पताल नहुँदा सुत्केरीले पाउने पीडा कम गर्न अस्पतालबाट सहयोग पुग्नेमा आफू आशावादी रहेकोमा उहाँले विश्वास व्यक्त गर्नुभयो।

पछिल्लो समय जलवायु परिवर्तनका कारण गगनचुम्बी सेता हिमाल काला पहाडमा परिणत भइरहेकोप्रति चिन्ता व्यक्त गर्दै राष्ट्रपति भण्डारीले त्यसतर्फ सचेत जरुरी रहेको बताउनुभयो।

वैज्ञानिक अध्ययन अनुसन्धानका साथै आफ्नै आँखाले पनि जलवायु परिवर्तनको असर प्रत्यक्ष रूपमा देख्न पाइएको उहाँको भनाइ थियो। वातावरण जोगाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पक्ष सबैले मिलेर काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।

यस्तै, राष्ट्रियसभाका सदस्य सोनाम गेल्जेन शेर्पाले स्वास्थ्य सेवा सबैको मौलिक अधिकार भएको बताउनुभयो। अबका दिनमा उपचारमा मात्र ध्यान केन्द्रित नगरी स्वास्थ्य शिक्षामा समेत ध्यान आवश्यक भएको उहाँले बताउनुभयो।

आर्थिक अवस्था कमजोर भएको गाउँपालिकामा बिरामी उपचार गर्न समस्या भएका बेला अस्पताल स्थापना हुँदा स्थानीयलाई राहत मिलेको उहाँले उल्लेख गर्नुभयो। सबैभन्दा बढी फाइदा स्थानीयका साथै यहाँ घुम्न आउने पर्यटकलाई भएको उहाँको भनाइ थियो।

Back to top button