नेपाली चलचित्र ‘फूलबारी’को पहिलो पोस्टर सार्वजनिक

काठमाडौं । रामबाबु गुरुङको निर्देशन रहेको नेपाली चलचित्र ‘फूलबारी’को पहिलो पोस्टर सार्वजनिक भएको छ। सामाजिक कथामा बनेको यस चलचित्रको पोस्टर निर्माता मनिष ढकालको जन्मदिनको अवसर पारेर आज सार्वजनिक गरिएको हो।

सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकारहरूलाई देखाइएको छ। जसमा विपिन कार्की ढाका टोपी र फुलेको दाह्रीमा देखिनुभएको छ भने दयाहाङ राईको हँसिलो अनुहार देखिउनुभएको छ ।

अभिनेत्री प्रियंका कार्की गम्भीर मुद्रामा देखिनुभएको छ भने अरुणा कार्की हाँसिरहेको देखिउनुभएको छ । शिल्पा मास्के र गौमाया गुरुङलाई पनि पोस्टरमा अटाइएको छ।

रामबाबुको निर्देशनमा बनेको ‘कबड्डी ४’ गत जेठमा प्रदर्शनमा आएको थियो भने विपिन र दयाहाङको अभिनय रहेको अर्को फिल्म ‘के घर के डेरा’ यही कात्तिक पहिलो हप्ता रिलिज भएको थियो।

‘कबड्डी ४’ नेपाली फिल्मको इतिहासमै सर्वाधिक कमाइ गर्ने फिल्म बन्दा ‘के घर के डेरा’ पनि व्यावसायिक रुपमा सफल साबित भएको थियो। केही हलहरूमा अझै प्रदर्शनरत नै छ। ‘फूलबारी’ अभिनेत्री प्रियंका कार्कीले छोरी पाएपछिको पहिलो फिल्म पनि हो। व्यावसायिक रुपमा यो वर्ष सफल रहेका कलाकार तथा निर्देशकको अर्को फिल्मले कस्तो व्यापार गर्छ त्यो भने हेर्न बाँकी छ।

यस्तै, कमलकिशोर मालपानीको कथा, उपेन्द्र सुब्बाको लेखन तथा मनिष ढकालको निर्माण रहेको ‘फूलबारी’ आगामी फागुन ५ गतेदेखि प्रदर्शनमा आउँदैछ।

Back to top button