
जनकपुर । धनुषामा बोलेरो अनियन्त्रित भएर दुर्घटना हुँदा एकदिनको नवजात शिशुको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
धनुषाको लक्ष्मीनिया गाउँपालिका वडा नम्बर–७ स्थित सर्फ फ्याक्ट्रीको अगाडि ना ३ च ३५७५ नम्बरको बोलेरो (जिप) दुर्घटनामा परेको लक्ष्मीनिया प्रहरी चौकीका असइ अजयकुमार यादवले जानकारी दिनुभयो। असइ यादवका अनुसार बोलेरो जनकपुरबाट महेन्द्रनगरतर्फ जाँदै थियो।
लक्ष्मीनिया बजार र निकालको बीचमा रहेको सर्फ फ्याक्ट्रीको अगाडि जिप अनियन्त्रित हुँदा पिलरमा ठोक्किएपछि सडकको बीचमा रहेको डिभाइडरमा ठोक्किएको असइ यादवले बताउनुभयो।
दुर्घटनामा मृत्यु हुनेमा १ दिने नवजात शिशु रहेको प्रहरी स्रोतले जानाएको छ । दुर्घटनामा ५० वर्षीया राधादेवी महतो, चन्द्र्कालादेवी महतो, १५ वर्षीय सुदिप सिंह, कमलीदेवी महतो, सन्जुदेवी महतो र फुलोदेवी महतोको अवस्था गम्भर रहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक बेचन यादवले जानकारी दिनुभयो।
दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागि नजिकै रहेको लक्ष्मीनियाको सेन्ट्रल हस्पिटल लगिएको र घटना सम्बन्धमा अनुसन्धान भइरहेको धनुषाका डिएसपी प्रदिप क्षेत्रीले जानकारी दिनुभयो।