विराट शिक्षण अस्पतालमा लाखौं रुपैयाँको हिनामिना, १० कर्मचारी पक्राउ

विराटनगर । मोरङको बूढीगंगा गाउँपालिका–२ मा रहेको विराट शिक्षण अस्पतालको लाखौं रुपैयाँ कर्मचारीको मिलेमतोमा हिनामिना भएको पाइएको छ। रकम हिनामिना गरेको आरोपमा अस्पतालको बिलिङ, डिस्चार्ज र रिसेप्सन शाखामा कार्यरत १० जना कर्मचारी पक्राउ परेका छन्।

अस्पतालले दिएको जाहेरीका आधारमा प्रहरीले सुरुमा बिलिङ एन्ड डिस्चार्ज शाखाका प्रमुख बूढीगंगा–२ का २६ वर्षीय दुर्गाबहादुर विष्ट र क्यासियर सुनसरीको इटहरी उपमहानगरपालिका–४ का २४ वर्षीय अश्विन भट्टराईलाई पक्राउ गरेको थियो। प्रहरीका अनुसार सुरुमा दुई जनालाई पक्राउ गरेर अनुसन्धान थाल्दा अरु कर्मचारीको पनि संलग्नता रहेको पाइएको हो।

पक्राउ पर्ने अन्य कर्मचारीमा मोरङको बूढीगंगाका २८ वर्षीय सुनील पासवान, दीपेन्द्र तब्दार, २७ वर्षीय प्रभुनारायण चौधरी, २६ वर्षीय सुशील पासवान, २३ वर्षीया स्वस्तिका श्रेष्ठ, २१ वर्षीय करन विश्वकर्मा, ग्रामथानका २३ वर्षीय नरनारायण चौधरी र सप्तरी कन्चनपुरका २३ वर्षीय वसन्तकुमार राम रहेको प्रहरीले जनाएको छ ।

मोरङ प्रहरीका डीएसपी टीकाबहादुर कार्कीका अनुसार विष्ट र भट्टराईलाई गत कात्तिक ३ गते पक्राउ गरिएको हो। अन्य कर्मचारीलाई शुक्रबार पक्राउ गरिएको जानकारी उहाँले दिनुभयो।

पक्राउ परेकाविरुद्ध ठगी मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको डीएसपी कार्कीले बताउनुभयो। उहाँका अनुसार प्रारम्भिक अनुसन्धानबाट ५७ लाख ९५ हजार १ सय ६० रुपैयाँ हिनामिना भएको खुलेको छ।

पक्राउ परेकाहरुले अर्काको युजर आईडी र पासवर्ड प्रयोग गर्दै बिरामीका आफन्तले अस्पतालका नाममा जम्मा गरेको धरौटीवापतको रकम अनाधिकृत रूपमा फिर्ता दिएर, नक्कली बिरामी खडा गरेर र अस्पतालको आधिकारिक व्यक्तिबाट स्वीकृति नलिइकन बिरामीको खाताबाट अस्वभाविक रूपमा छुट देखाएर आर्थिक अपचलन गरेको पाइएको कार्कीको भनाइ छ।

नक्कली कारोबार गर्दै वास्तविक बिरामीको खाताबाट धरौटीवापतको रकम फिर्ता लगेर र नक्कली बिरामी खडा गरेर ३४ लाख ४२ हजार ७ सय ७२ तथा आधिकारिक व्यक्तिसँग स्वीकृति नलिइकन बिरामीको खाताबाट अस्वभाविक रूपमा २३ लाख ५२ हजार ३ सय ८८ रुपैयाँ छुट देखाएर रकम घोटाला गरिएको अस्पतालले जनाएको छ।

कर्मचारीले रकम घोटाला गरेको पत्तो पाएपछि कात्तिक ३ गते बसेको अस्पताल सञ्चालक समितिको बैठकले लेखा परीक्षक मनोज अधिकारीलाई छानबिन गरेर प्रतिवेदन पेश गर्ने विज्ञका रूपमा नियुक्त गरेको थियो। मिलेमतोमा रकम घोटाला भएको प्रतिवेदन तयार पारेर अधिकारीले कात्तिक १४ गते अस्पताललाई बुझाउनुभयो।

अस्पतालको आन्तरिक छानबिन र प्रहरीको प्रारम्भिक अनुसन्धानबाट ५७ लाख ९५ हजार १ सय ६० रुपैयाँ घोटाला गरेको खुलेको हो। सुरुमा भने अस्पतालले ५ करोड रुपैयाँ हिनामिना भएको दाबी गरेर प्रहरीमा जाहेरी दिएको थियो।

‘हिनामिना गरिएको रकम बढ्ने देखिन्छ। यसमा अरु कर्मचारी पनि संलग्न रहेको आशंका छ,’ अस्पताल स्रोतले भन्यो, ‘यस विषयमा थप अनुसन्धान अघि बढाउन प्रहरीलाई आग्रह गरिएको छ। अस्पतालले पनि आन्तरिक हिसाबले छानबिन गरिरहेको छ।

Back to top button