मजदुर आन्दोलनबाट आएकोले मजदुरको समस्या बुझेको छुः लालबाबु पण्डित

विराटनगर । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा मोरङ क्षेत्र नं. ६ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार लालबाबु पण्डितले आफ्नो राजनीतिक यात्रा मजदुर आन्दोलनबाट सुरु भएकोले आफुले मजदुरको समस्या बुझेको बताउनुभएको छ ।

सुन्दरहरैंचा नगरस्तरीय मजदुर संगठन जिफन्टले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै पण्डितले मजदुरको समस्यालाई यदि कसैले समाधान गर्छ भने एमालेले मात्र गर्न सक्ने बताउनुभयो ।

‘किसान र मजदुरको प्रतिनिधित्व गर्ने जिफन्ट मजबुद छ, जुन संगठन मेरो कोठाबाट सुरु भएको हो’, उहाँले भन्नुभयो, ‘मजदुरको पीडा नदी नियन्त्रणसँग जोडिएका कारण खोला नियन्त्रणमा करोडौं खर्च भएपनि अझै पुगेको छैन्, त्यसका लागि एमालेले काम गर्छ ।’

गछिया खोला किनारमा भएको कार्यक्रममा नेता पण्डितले गछिया खोला नियन्त्रणको लागि आफूले काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । तटबन्धनसहितको योजना अघि सारिने भन्दै उहाँले यसबाट जग्गा उकास पनि हुने र गरिबहरुलाई बसाउने गरी व्यवस्थापन पनि गरिने उल्लेख गर्नुभयो ।

‘सुकुम्बासी समस्या र अव्यवस्थित बसोबासलाई समाधान गर्न एमाले जहिले अघि बढ्छ, त्यहि बेला एमाले विरोधी सरकारमा आउने र सबैभन्दा पहिला सुकुम्बासी आयोगको घाँटी रेट्ने काम गर्छ’,पण्डितले भन्नुभयो, ‘त्यसकालागि पनि नेकपा एमालेको स्थायी सरकार आवश्यक छ ।’

अवरोध नभएको भए यतिबेलासम्म सुकुम्बासीको अधिक समस्या मसाधान भइसक्ने थियो भन्दै उहाँले सुकुम्वासी समस्या समाधानलाई एमालेले प्राथमिकताका साथ काम गर्ने बताउनुभयो ।

विगतमा पनि न्यूनतम पारिश्रमिक निर्धारण र न्यूनतम दैनिकी रोजगारीको ज्यालादर एमालेले तयार गरेको स्मरण गराउँदै पण्डितले एमाले सधैं मजदुरको पक्षमा, गरिबको पक्षमा, दुःखीको पक्षमा र असहायको पक्षमा निरन्तर लागि रहने बताउनुभयो ।

सामाजिक सुरक्षा भत्तालाई व्यवस्थित गर्ने योजनामा एमाले रहेको भन्दै उहाँले न्यूनतम तलब २५ हजार रूपैयाँभन्दा माथि पुर्‍याउनका लागि पनि आफू लागिपर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । यस्तै दुर्घटना विमालाई व्यवस्थित गर्नको लागि पनि आफ्नो पहल रहने पण्डितले बताउनुभयो ।

Back to top button