
बागलुङ । नेपाल कम्युनिष्ट पार्टी (मसाल)ले आसन्न मंसिर ४ गते हुने निर्वाचनमा सहभागी नहुने (बहिष्कार गर्ने) निर्णय गरेको छ । मसालको हालै सम्पन्न बैठकले निर्वाचनमा सहभागी नहुने र जनतालाई चुनावमा भाग नलिन अनुरोध गर्ने निर्णय गरेको हो ।
मसालले संसदीय व्यवस्थाको अन्त्य गरी जनताको जनवादी व्यवस्था स्थापना गर्नुपर्ने माग गर्दै प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा सहभागी नहुने निर्णय गरेको पत्रकार सम्मेलनमा प्रवक्ता रेशम गिरीले बताउनुभयो ।
उहाँले निर्वाचनमा सहभागी नहुने गरी जनतालाई अपिल गर्न जिल्लाव्यापी पर्चा वितरण, घरदैलो अभियान, भेट, कोणसभा, अन्तरक्रिया जस्ता कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो ।
नेकपा मसालले राष्ट्रियता र जनजीविकाको पक्षमा परिणाममुखी जनसंघर्ष सञ्चालन गर्ने, पार्टीलाई उत्पादन कार्यमा जोड्ने, जनसंघर्षमा पार्टीको नेतृत्वदायी भूमिका खेल्नेलगायतका निर्णय गरेको जनाएको छ ।