
विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर ८ का अध्यक्ष राम पोखरेलले साँघुरा सडकलाई फराकिलो बनाउने अभियान सुरु गर्नुभएको छ । सडक विस्तारका क्रममा वडा भित्र सडक मापदण्ड विपरितका संरचना हटाउन शुरु गरिएको हो ।
वडामा नयाँ जनप्रतिनिधिका रुपमा निर्वाचित भएर आएपछि स्थानीय जनताको सेवामा कृयाशिल वडा अध्यक्ष पोखरेलले सामाजिक अभियानसँगै सडक विस्तारको कामलाई समेत अघि बढाउनु भएको हो ।
वडाभित्र पर्ने बाँके बिहारी मार्गलाई नालासहित २० फिटमा स्तरोन्नति गर्नका लागि मापदण्ड विपरितका संरचना हटाउन सुरु गरिएको अध्यक्ष पोखरेलले बताउनुभयो । हाल उक्त सडक १० फिट चौडाईको मात्रै रहेको छ ।
मापदण्ड अनुरुप सडक विस्तारका लागि हाल रेखाङ्कनभित्र परेका संरचनाहरू भत्काउने कार्य शुरु गरिएको पोखरेलले बताउनुभयो । उहाँका अनुसार मापदण्ड विपरितका संरचना हटाए सँगै एक महिनाभित्र सडक कालोपत्रे गरिसक्ने तयारीका काम अघि बढेको छ ।
वडा कार्यालयले कालोपत्रेका काम शुरु गरेपछि वडावासी पनि उत्साहित भएका छन् । आइतबारदेखि १२० मिटर लम्बाईको उक्त बाटो फराकिलो गरेर कालोपत्रेको काम सुरु पनि भएको छ ।
जय नेपाल मार्ग शाखा बाकेबिहारी मार्ग जोड्ने बाटो विगत लामो समयदेखि मापदण्ड विपरितका संरचना कायम रहँदा सडकस्तरोन्नती हुन सकेको थिएन ।
१२० मिटर लम्बाईको बाटो कालोपत्रे गर्ने जिम्मा भने सुमिसा निर्माण सेवा विराटनगरले लिएको छ । निर्माण कम्पनीले कुल ४३ लाखको बजेटमा वडा नं. ५, ६, ७ र ८ को विभिन्न चारवटा प्याकेजमा काम गरिरहेको छ ।
नाला निर्माणका लागि वडा कार्यालयबाट १० लाख र सडक कालोपत्रेका लागि महानगरको सडक बोर्डबाट ७ लाख बजेट विनियोजन गरिएको वडाध्यक्ष पोखरेलले बताउनुभयो ।
सडक स्तरोन्नती नहुँदा खाल्डाखुल्डीका कारण सवारी दुर्घटनाको जोखिम तथा वर्षायाममा सडकमा पानी जम्दा आवतजावतमा समेत समस्या हुने गरेको उहाँले बताउनुभयो ।
विराटनगर– ८ लाई महानगरकै नमुना वडाका रुपमा विकास गर्ने उद्देश्यले अघि बढ्नुभएका पोखरेलले भौतिक संरचना मात्रै नभएर सम्पूर्ण क्षेत्रको विकास गर्न आवश्यक रहेको बताउँदै आउनुभएको छ ।
पछिल्लो समय वडाबासीलाई नियमित रुपमा घर घरमा सुगर र प्रेसरको निशुल्क स्वाथ्य परिक्षण अभियान चलाएपछि पोखरेलको लोकप्रियता समेत बढ्दै गएको छ ।