प्रचण्ड पत्नी सीताको स्वास्थ्य अवस्था जटिल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको स्वास्थ्य अवस्था झन् गम्भीर बन्दै गएको छ ।

स्वास्थ्य अवस्था बिग्रिएपछि शनिबार ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना हुनुभएकी सीतालाई नन् इन्भेसिभ भेन्टिलेटर (एनआईभी)मा राखिएको छ । ‘अवस्था गम्भीर भएर शनिबार अस्पताल भर्ना गरिएको हो,’ अस्पताल स्रोतले भन्यो, नन् इन्भेसिभ भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।’

गत सोमबारमात्र अस्पतालमा १६ दिन लामो उपचार गराएर सीतालाई घर लगिएको थियो । ‘पछिल्लो पटक अस्पताल भर्ना भएदेखि नै स्वास्थ्य अवस्था झन्झन् गम्भीर बन्दै गएको छ । तर, अहिले नै आशा मारिहाल्नुपर्ने अवस्था भने छैन,’ अस्पताल स्रोतले भन्यो ।

सीताको स्वास्थ्यमा छिन–छिनमै उतार चढाव आउन थालेपछि अस्पतालले विशेषज्ञ चिकित्सकको विशेष निगरानीमा उपचार गरिरहेको छ । उहाँ लामो समयदेखि जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित हुनुहुन्छ । चिकित्सकका अनुसार पूर्णरुपमा निको नहुने र रोकथाम मात्र गर्न सकिने रोग हो ।

उहाँ मधुमेह र उच्च रक्तचापबाट समेत पीडित हुनुहुन्छ । उहाँको अहिले मेडिसिटीमा वरिष्ठ न्युरो रोग विशेषज्ञ डा. बाबुराम पोखरेलको नेतृत्वमा उपचार भइरहेको छ ।

Back to top button