
विराटनगर । प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनको मिति नजिकिँदै जाँदा मोरङ क्षेत्र नम्बर–३ मा चुनावी सरगर्मी निकै बढेको छ ।
यस क्षेत्रमा अघिल्लो निर्वाचनका मुख्य प्रतिष्पर्धि नेकपा एमालेका भानुभक्त ढकाल र नेपाली कांग्रेसका सुनिल शर्मा यसपटकका पनि उम्मेदवार हुनुहुन्छ । उहाँहरुसँग राप्रपाबाट उम्मेदवार बन्नुभएकी अभिनेत्री रेखा थापा पनि चर्चामा हुनुहुन्छ ।
सबै उम्मेदवारहरु चुनावी दौडमा रहेका बेला घरदैलो अभियानमा भेटिनुभएका नेकपा एमालेका उम्मेदवार ढकालले मोरङ क्षेत्र नम्बर–३ का जनताले स्थायी सरकार चाहेको बताउनुभएको छ । गठबन्धनको उद्देश्यलाई जनताले राम्ररी बुझिसकेको भन्दै उहाँले देश र जनताको हितका लागि पनि नेकपा एमालेले विजय प्राप्त गर्ने विश्वास ब्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘जनताले स्थायी सरकार चाहनुभएको छ, स्थायी सरकार बनाउन सक्ने पार्टी भनेको नेकपा एमाले मात्रै हो भन्ने यहाँका जनताले राम्ररी बुझ्नुभएको छ ।’ अघिल्लो पटक आफूले निर्वाचन जितेर गएपछि क्षेत्रका लागि गरेका कामको बारेमा पनि सबै जानकार रहेको भन्दै उहाँले यहाँको प्रमुख समस्याहरु खोलाको तटबन्ध गर्ने कामको प्रारम्भ भइसकेको बताउनुभयो ।
यस्तै, यहाँको सुकुम्बासीको समस्या दिर्घकालिन रुपमा समाधान गर्न अन्तिम तयारी भइरहेका बेला गठबन्धनको सरकार बनेपछि त्यसलाई भत्काएको समेत जनताले बुझेको प्रष्टयाउनुभयो ।
‘एमालेले सुकुम्बासी तथा भूमिहिनको समस्या तत्काल समाधान गर्ने भयो भन्ने बुझेर ओली नेतृत्वको सरकारले बनाएको आयोग नै गठबन्धन सरकारले खारेज गरेको जनतालाई थाहा छैन र?’ उहाँले प्रतिप्रश्न गर्दै भन्नुभयो ।
मोरङ– ३ का जनता अब लोभ–लालचमा फसेर आफ्नो र सन्तानको भविष्य अन्यौलमा पार्ने पक्षमा छैनन् । यस्तै मोरङ– ३ कम्युनिष्टहरुको जनाधार भएको क्षेत्र पनि रहेको भन्दै नेकपा एमालेले निर्वाचन जित्नु स्वभाविक हुने बताउनुभयो ।
त्यस बाहेक पनि यहाँका जनता देशको भविष्यका लागि एमालेले अघि सारेको ‘समृद्ध नेपाल सुखी नेपाली’ राष्ट्रिय अभियान सार्थक हुनुपर्छ भन्ने पक्षमा रहेको ढकालले बताउनुभयो ।
राष्ट्रिय स्वाभिमान रक्षाका निम्ति नेकपा एमालेले खेलेको भूमीका, नेपालको भूमी रक्षाका निम्ति नेकपा एमालेले चालेको कदम र भारतीय नाकाबन्दी विरुद्धको लडाईलाई यहाँका जनताले नजिकबाट हेरेको मात्र नभई मनै देखि समर्थन गरेको समेत उहाँले चर्चा गर्नुभयो ।
उहाँले भन्नुभयो,‘फेरि पनि मिलिजुली, पालैपालो सरकार चलाउने अस्थिर राजनीतिलाई प्रश्रय दिने पक्षमा मोरङ– ३ का जनता हुनुहुन्न यो मेरो पूर्ण विश्वास हो ।’
उहाँले यस क्षेत्रको विकासमा यहाँका जनता र स्थानीय तथा प्रदेश सरकारसँगको समन्वयमा तिव्रतर काम गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभयो,‘हामी कसैको विरोध गर्ने पक्षमा छैनौं, चुनावी प्रतिफल नेकपा एमालेको पक्षमा आउँछ, जनताबाट मैले त्यहि विश्वास पाएको छु ।