गायक प्रकाशले गरे अष्ट्रेलियामा आत्महत्याको प्रयास

काठमाडौं । गायक प्रकाश दूतराजले आत्महत्याको प्रयास गर्नुभएको छ । सांगीतिक कार्यक्रमको लागि अष्ट्रेलियाको ब्रिसबेन पुग्नुभएका प्रकाशले आफू बसेको होटलमै झुण्डिने प्रयास गरेको स्रोतले जनाएको छ ।

उक्त घटना स्थानीय समयानुसार हिजो मध्यरातमा भएको जनाइएको छ । गायिका भूमिका गिरीसहित प्रकाश कन्सर्टको लागि अष्ट्रेलियामा हुनुहुन्छ । आयोजकले उहाँहरुलाई एउटै फ्ल्याटमा राखेको छ ।

गायक प्रकाशले सलको पासो लगाएर झुण्डिने प्रयास गर्नुभएको थियो । सोही क्रममा उहाँ बसेको ढोका पनि खुल्लै भएको जनाइएको छ । कोठाबाट आवाज आएपछि गायिका गिरीले प्रकाशको कोठामा पसेर उद्धार गरेको स्रोतले जानकारी दियो ।

उहाँ अहिले सामान्य अवस्थामा हुनुहुन्छ । अन्तर्मुखी स्वभावका प्रकाशले आत्महत्या प्रयास गुर्नको कारण खुलेको छैन । सिड्नीमा हुन लागेको एक सांगीतिक कार्यक्रमपछि उहाँ र भूमिका गिरी नेपाल फर्कने तयारीमा हुनुहुन्छ ।

गायक प्रकाशका जाम भो माइली, घर कता हो बैनीको, चोली मैलै भो, मन भुल्छलगायत गीत चर्चित छन् । केही दिनअघि रिलिज भएको उहाँको गीत ‘देउरालीमा’ पनि निकै रुचाइएको छ ।

Back to top button