आसन्न निर्वाचनपछि गठबन्धनकै सरकार बन्छ : प्रचण्ड

सल्यान । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न मंसिर ४ गते हुने प्रतिनिसभा र प्रदेशसभाको निर्वाचनपछि गठबन्धनको सरकार बन्ने दाबी गर्नुभएको छ । उहाँले निर्वाचनमा गठबन्धनको अत्याधिक बहुमत आउने र त्यसपछिको सरकार गठबन्धनकै बन्ने दावी गर्नुभएको हो ।

चुनावी सभालाई सम्बोधन गर्न जुम्ला जान लाग्नुभएका प्रचण्डले आज बिहान सल्यानमा पत्रकारहरुसँग कुराकानी गर्दै केपी शर्मा ओलीले जनताको त्याग तपस्या र वलिदानबाट प्राप्त संविधान मिच्नुका साथै व्यवस्थालाई ध्वस्त गर्न थालेपछि वाम लोकतान्त्रिक गठबन्धन बनाउनुपरेको बताउनुभयो।

ओली बहुमत नै ल्याउँछु भनेर हिडिँरहे पनि यथार्थ र तथ्यमा जाँदा त्यस्तो नभएको उहाँको भनाई छ । यस अघि जनताले बहुमत दिँदा पनि सरकार चलाउन छोडेर संसद विघटन, संविधान मिच्ने काम गरेकाले अहिले पनि वहुमत ल्याउँछौं भनेर हिँडनु लाजको बिषय भएको बताउनुभयो।

पहिले वाम गठबन्धन गर्दा त्यसको प्रस्ताव आफुले गरेको र आम जनता कार्यकर्ताले समर्थन गरेको र दुई तिहाई आएको सरकारलाई ओलीले नै टिकाउन नसकेको उहाँले आरोप लगाउनुभयो ।

यस्तै, अर्को फरक प्रस‌ंगमा अध्यक्ष प्रचण्डले आफुले प्रधानमन्त्रीका लागि मरिहत्ते नगर्ने तर अवसर आए पछि नहट्ने बताउनुभयो। प्रधानमन्त्रीका लागि गठबन्धन भित्र विवादको विषय नहुने र प्रतिगमनका विरुद्ध गठबन्धन भएको बताउनुभयो।

Back to top button